
रौतहट : जिल्लाको ईशनाथ नगरपालिकामा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन् । ईशनाथ नगरपालिका वडा नम्बर–२ स्थित औरैया टोलमा मंगलबार एक पुरुषको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बलको चेकपोष्ट क्याम्प नजिकैको सार्वजनिक स्थानमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले प्रारम्भिक जाँचबुझ गरी शवलाई आफ्नो नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट हालसम्म मृतकको नाम थर र ठेगाना खुल्न सकेको छैन । मृतकको हुलिया र कपडाका आधारमा पहिचान खुलाउने प्रयास भइरहेको भए पनि हालसम्म कुनै ठोस सुराक फेला नपरेको प्रहरीले जनाए । स्थानीय औरैया टोलका बासिन्दाहरूले पनि ती व्यक्तिलाई आफूहरूले नचिनेको बताए ।
सम्बन्धित निकायले मृतकको पहिचानका लागि व्यापक खोजी र समन्वय गरिरहेको हो । यदि कसैको परिवारको सदस्य हराएको भए वा उक्त व्यक्तिलाई चिन्ने महानुभावले नजिकैको सशस्त्र प्रहरी बल कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको हो ।
घटनाको प्रकृति हेरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको र मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने सुरक्षा स्रोतले जानकारी दिए । अत्यधिक चिसो वा अन्य कुनै कारणले मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले ’शंकास्पद’ कोणबाट पनि अनुसन्धान गरिरहेको बताए ।
मृतकको पहिचान सम्बन्धी कुनै जानकारी भएमा तुरुन्तै स्थानीय प्रहरी प्रशासनलाई खबर गरी सहयोग गरिदिन सम्बन्धित सबैमा अपिल गरिएको हो ।