
चितवन : जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन् । यस कारागारबाट भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए ।
तीमध्ये ६२७ जना फर्किएका छन् । सम्पर्कमा नआएकालाई प्रहरीले खोजी गरेर ल्याउने गरेको छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार अहिलेसम्म प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको छ ।
सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुंगानाले जानकारी दिए । यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उनले जानकारी दिए । फरार भएकामध्ये दुर्लभ एक सिंगे गैँडा चोरी सिकारीका समेत रहेका छन् ।
कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । –रासस