
काठमाडौं : विभाजन उन्मुख नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरूप चार घण्टा चलेको त्रिपक्षीय वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकबाट ठोस सहमति नजुटेको र आजै पुनः वार्ता बस्ने तयारी रहेको वार्ता समिति सदस्य प्रदीप पौडेलले बताए ।
उनका अनुसार नेता परिवर्तनको विषयमा सहमति जुट्न सकेको छैन । विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तन अनिवार्य रहेको अडान राखेका छन् भने संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई संस्थापन र डा. शेखर कोइराला समूहले स्वीकारेका छैनन् ।
यही विवाद मिलाउन वार्ता समिति गठन गरे पनि बिहान बसेको बैठकसमेत निष्कर्षविहीन भएको छ ।