
काठमाडौं : नेकपा (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य राजनीतिक दलहरूले आफ्ना कमीकमजारी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार भएर लाग्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई थप एकताबद्ध, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नयाँ संकल्पसहित पहलकदमी लिनुपर्ने आवश्यकता औंल्याए । संयोजक दाहालले सबै प्रमुख राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतमा आफ्ना कमजोरीको मूल्यांकन गर्न जरुरी रहेकामा जोड दिए ।
उनले भने, ‘सबै ठिकै चलिरहेको छ भन्नेगरी परम्परागत तरिकाले मात्रै देशमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण संकटको अवस्थाबाट गुज्रेको छ, यसलाई थप एकताबद्ध, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरूरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टी एकता प्रक्रियालाई अगाडि बढाएका छौं ।’
संयोजक दाहालले देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्नका लागि नेपालको इतिहासमा पहिलोपटक एकैसाथ २० वटा कम्युनिस्ट र समाजवादी घटकलाई एकताबद्ध गर्न सफल भइएको उल्लेख गरे ।
‘पार्टी एकताको प्रक्रिया दिनप्रतिदिन झन शक्तिका साथ अगाडि बढिरहेको छ । खाली घटक संगठन मात्रै होइन देशलाई माया गर्ने थुप्रै व्यक्ति व्यक्तित्वहरू पनि जोडिरहेका छन् । अब एकताको उद्देश्य र जेनजी पुस्ताले अगाडि सारेको सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त देश बनाउन सबै प्रतिबद्ध भएर लाग्ने छौं ।’ –रासस