
अर्घाखाँची : जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी प्राथमिक उपचारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जनस्वास्थ्य अधिकृत निरु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण अर्घाखाँची जिल्ला अस्पतालका डा.विवेक घिमिरेले गरेका थिए ।
कार्यक्रमको सुरुमा शितगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढीकरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए । अभिमुखीकरण कार्यक्रममा अर्घाखाँची जिल्लाका छवटै स्थानीय तहका सम्बन्धित रोगका फोकल पर्सनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले संघीय संरचनापछि स्थानीय तहले आफ्नो आवश्यकता र सन्दर्भ अनुसार स्वास्थ्य प्रणालीलाई ‘कस्टमाइज’ गर्नुपर्ने बताए । संघीय सरकारले विकास गरी हस्तान्तरण गरेका प्रणालीहरूलाई हुबहु लागू गर्नुभन्दा स्थानीय आवश्यकता अनुसार परिमार्जन गरी सञ्चालन गर्नुपर्ने सापकोटाको भनाइ थियो ।
सापकोटाले स्वास्थ्य प्रणालीको संगठन तथा व्यवस्थापनलाई सुधार गर्दै स्पष्ट दरबन्दी कायम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै, धेरै स्थानीय तहमा स्थायीभन्दा करार कर्मचारीको संख्या बढी रहेको बताए । करारमा रहेका कर्मचारीहरूलाई पनि दरबन्दीभित्र समेट्ने दिशामा स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने उनले सुझाव दिएका थिए ।
कार्यक्रममा नगरप्रमुख छविलाल पौडेलले स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ सेवामा लाग्न आग्रह गर्दै जनताको सेवा गर्नु पवित्र धर्म भएको बताए । उनले समर्पित भावनाका साथ स्वास्थ्य सेवामा लाग्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।
कार्यक्रममा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी प्राथमिक उपचारबारे अर्घाखाँची जिल्ला अस्पतालका डा.विवेक घिमिरेले प्रशिक्षण दिएका थिए । सहभागीहरूले कार्यक्रमबाट व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।