२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ - अग्नि खरेल

shivam cement
२०८२ पुष ३० गते १४:३६
Shares
कांग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ - अग्नि खरेल

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेलले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजनले चुनावलाई असर गर्न सक्ने बताएका छन् । उनले विभाजनले ल्याउन सक्ने कानुनी जटिलताले चुनावलाई सहज नगर्ने उल्लेख गरेका छन् ।

दलहरूको विभाजनले गम्भीर राजनीतिक संकटतर्फ धकेल्ने चेतावनी दिएका छन् । उनले कांग्रेस विभाजन अहिलेको अवस्थामा न पार्टीको हितमा हुने र न त देश, लोकतन्त्र तथा संविधानको हितमा हुने स्पष्ट पारेका छन् ।

खरेलले भने, ‘यो समय कुनै पनि ठूला राजनीतिक दल फुट्नुपर्ने अवस्था होइन। विशेष गरी कांग्रेस र एमाले जस्ता दलहरूले संविधान ल्याएका हुन्, लोकतान्त्रिक व्यवस्थालाई जोगाउने ऐतिहासिक जिम्मेवारी बोकेका छन्। यस्तो बेलामा काँग्रेस विभाजित हुनु भनेको देशलाई थप संकटतर्फ लैजानु हो ।’

उनका अनुसार कांग्रेस विभाजन भएमा सबैभन्दा ठुलो असर आगामी निर्वाचनमा पर्नेछ । ‘कांग्रेस जस्तो ठुलो पार्टी विभाजनमा गयो भने चुनाव समयमै हुन्छ भन्ने सुनिश्चितता कमजोर हुन्छ,’ उनले भने, ‘चुनाव अनिश्चिततातर्फ गयो भने संसद्, लोकतान्त्रिक प्रक्रिया र राज्य सञ्चालनमै प्रश्न उठ्छ ।’

खरेलले चुनाव नहुनु वा लगातार सर्दै जानु गम्भीर जोखिम हुने उल्लेख गरे । चुनाव नहुने अवस्था ‘बंगलादेश तर्फको यात्रा’ हुने आशंका गरे । ‘चुनावको मिति छाड्दै जानु भनेको लोकतन्त्र कमजोर हुँदै जानु हो। काँग्रेसका नेताहरू के साँच्चै देशलाई त्यही दिशातर्फ लैजान चाहन्छन् ?’ उनले प्रश्न गरे।

कांग्रेसभित्रको नेतृत्व विवादबारे बोल्दै खरेलले यसलाई आन्तरिक विषय माने पनि त्यसको परिणाम राष्ट्रिय हुने भएकाले त्यसले चिन्ता जगाएको उल्लेख गरे ।

‘शेरबहादुर देउवाले कदम चालेर यो संकट व्यवस्थापन गर्न सकिन्थ्यो,’ उनले भने, ‘भविष्य देख्ने भनिएका नेताहरूले पनि पार्टी फुटाएर भविष्य बन्छ कि बन्दैन भन्ने गम्भीरतापूर्वक सोच्नुपर्छ ।’

उनले महाधिवेशन, कारबाही, अदालत र निर्वाचन आयोगसम्म विवाद पुग्न सक्ने सम्भावनाले झनै जटिलता थप्ने बताए । ‘एक अर्कामाथि कारबाही, अदालतमा मुद्दा, निर्वाचन आयोगको वैधानिकताको प्रश्न-यी सबैले राजनीतिक अस्थिरता मात्रै बढाउँछ,’ खरेलको भनाइ छ ।
 

सम्बन्धित खबर