
रौतहट : रौतहट सदरमुकाम गौरमा हालै सञ्चालनमा आएको श्री रामलखन हरि साह गुरुकुल विद्यापीठमा तोडफोड र अभद्र व्यवहार गरिएको छ । जिल्लामै पहिलोपटक विशेष उद्देश्यका साथ सञ्चालनमा आएको यस धार्मिक तथा शैक्षिक संस्थामाथि भएको घटनाले स्थानीय शिक्षाप्रेमी, अभिभावक तथा धार्मिक समुदायलाई स्तब्ध बनाएको छ ।
अज्ञात समुहले गुरुकुलको मुख्य बोर्ड च्यात्नुका साथै भवनको ढोकामा तोडफोड गरी क्षति पु¥याउने प्रयास गरेका छन् । यसका साथै गुरुकुलको भित्तामा अत्यन्तै आपत्तिजनक र अश्लील शब्दहरू लेखिएको पाइएको छ । पवित्रता, अनुशासन र संस्कारको प्रतीक मानिने गुरुकुलजस्तो शैक्षिक थलोमा यस प्रकारको अमर्यादित गतिविधि हुनु अत्यन्तै निन्दनीय भएको स्थानीयवासीहरूको भनाइ छ ।

गुरु र विद्यार्थी असुरक्षित महसुस गर्दै
घटनापछि गुरुकुलमा अध्ययनरत साना विद्यार्थी र अध्यापनमा संलग्न गुरुहरूले त्रास र असुरक्षाको महसुस भएको बताएका छन् ।
शान्त र सुरक्षित वातावरणमा शिक्षा दिनु र लिनुपर्ने स्थानमा यस्ता अवाञ्छित गतिविधि हुँदा बालबालिकाको मानसिक अवस्थामा नकारात्मक असर परेको एक अभिभावकले गुनासो गरेका छन् ।
गुरुकुल प्रशासनले घटनाको कडा शब्दमा भत्र्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । प्रशासनका अनुसार शैक्षिक संस्थामाथि गरिएको यस्तो आक्रमण निन्दनीय र अक्षम्य अपराध हो । जिल्ला प्रशासन र प्रहरीले तत्काल घटनाको अनुसन्धान अघि बढाई दोषी पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरिएको छ ।
स्थानीय बुद्धिजीवीहरुले गुरुकुलमाथि भएको यो आक्रमण केवल एउटा भवनमाथिको तोडफोड मात्र नभइ समग्र शिक्षा प्रणाली, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमाथिको प्रहार भएको बताएका छन् ।
यस घटनालाई गम्भीरतापूर्वक लिँदै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीयले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।
