
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताएकी छन् ।
थापा नेतृत्वको केन्द्रीय कार्य समितिको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको युग गगन थापाको भएको बताएकी हुन् ।
उनले देश चलाउनका लागि नयाँ सोच, विचार र एजेण्डा चाहिने बताइन् । त्यो आशा र भरोसा जगाउनसक्ने सभापति भनेको गगन थापा मात्रै रहेको उनको भनाइ छ । जनताका अपेक्षालाई पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको उनले बताइन् ।
उनले भनिन्, ‘गगन थापाको नेतृत्वले देश हाँक्नेछ । देश हाक्नको लागि नयाँ सोच, नयाँ विचार र एजेण्डा चाहिन्छ । त्यो आशा र भरोसा जगाउनुपर्नेछ । त्यो जगाउनसक्ने सभापति गगन थापा हो । अब युग सुरु भएको छ, युग नायक पुनर्जागरणको युगमा । धेरै एजेण्डा छन्, धेरै अपेक्षा छन्, त्यो अपेक्षालाई पूरा गर्न हामी प्रतिबद्ध छौं ।’
सहमहामन्त्री बहादुर सिंह लामाले जेनजीको आन्दोलनले नयाँ रूपान्तरण खोजेकोले सोही अनुसार आफूहरू अगाडि बढेको बताए । एउटै अनुहार देखेर जनता वाक्क भइसकेको उनको भनाइ छ । उनले आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर जनताको जाने बताए ।
उनले विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने उल्लेख गरे । विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधिलगायतका स्पष्ट नीति पारित गरेकोले सोही नीतिअनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।
उनले भने, ‘जेनजीको आन्दोलनले के भन्छ भने एकै अनुहार देखिरहँदा पनि अलिकति गाह्रो भयो, सुशासन कायम गर्ने, रोजगारी गर्ने कुराहरू लगायतका मुद्दा लिएर चुनाव हुन लागेको छ । चुनावमा के मुद्दा लिएर जाने त ? भरोसा त दिनुपर्यो नी, जब मुद्दा हुँदैन, तबसम्म जनताले भोट दिँदैन । त्यसले गर्दा हामीले गरेका कामहरूको केही कमीकमजोरीहरूलाई पनि सुधार गरेर जान्छौं । सबै कुरामा सुधार गरेर सुशासन हामी यसरी दिन्छौं भनेर विशेष महाधिवेशनले स्पष्ट नीति पास गरेको छ । जनताको मन छुने, युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि यसरी गर्छौं भनेर हामीले पुष्टी गरेका छौं ।’
सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टीले भाग लिने बताए । उनले चुनावको अगाडि अन्योल सिर्जना गर्न खोजेको नभइ सबै नयाँ जोश जाँगर लिएर आएको बताए । निर्वाचनका लागि ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले त्यसको लागि पार्टीले विभिन्न निर्णय गर्ने जानकारी दिए । बैठकले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका विभिन्न समितिहरू बनाउने बताए ।
उनले भने, ‘चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको होइन । हामी चुनावमा जानसक्छौं । निर्वाचनको लागि ६ गते नोमिनेशन छ, त्योभन्दा अगाडि हामीले टिकेट पनि बाढ्नुपर्यो । हाम्रो घोषणापत्र तयार हुनुपर्यो । हाम्रो परिचालन समिति पनि तयार गर्नुपर्यो । निर्वाचन परिचालन सम्बन्धी विभिन्न समितिहरू हामीले बनाउनुपर्छ । आजको बैठक चाहीँ हामीले हतारिएर राखेका छौं । हामीहरू सबै नयाँ जोश जाँगर लिएर आएका छौं ।’
गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठक बिहीबार ललितपुरको कुपण्डोलमा बसिररहेको छ ।