
काठमाडौं : नेकपा एमाले यही माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा होमिने भएको छ ।
पार्टी सचिव महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराए ।
उनले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताए । उनले अझैपनि जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरू फिर्ता गर्न नसकिएको उल्लेख गरे ।
उनले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाए । लामिछानेलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफैं लागेको पुष्टि भएको दाबी गरे ।
उनले कांग्रेस-एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरूको चालामाला ठिक नभएको उनको जिकिर छ ।