२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मकर संक्रान्तिमा मिनी गोरखनाथ मन्दिरमा भक्तजनको भिड

shivam cement
विनोद निगम
२०८२ माघ १ गते २०:५७
Shares
मकर संक्रान्तिमा मिनी गोरखनाथ मन्दिरमा भक्तजनको भिड

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – २ गोपालपुरस्थित मिनी गोरखनाथ मन्दिरमा मकर संक्रान्तिको अवसरमा हजारौं श्रद्धालुहरूले दर्शन गरेका छन् । 
बिहीबार बिहानैदेखि मन्दिर परिसरमा ‘जय बाबा गोरखनाथ’को जयघोषले गुन्जायमान बनेको थियो । चिसो मौसमको प्रवाह नगरी नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरू श्रद्धा र भक्तिभावसहित मन्दिर पुगेका थिए । 

भक्तजनहरूले बाबा गुरु गोरखनाथलाई परम्परागत रूपमा खिचडी चढाउँदै आफ्नो परिवार,समाज,क्षेत्र र देशको सुख–समृद्धि, शान्ति तथा कल्याणको कामना गरेका थिए । सीमापारिबाट आएका भारतीय श्रद्धालुहरूको बाक्लो सहभागिताले मेलालाई अन्तर्राष्ट्रिय धार्मिक मेलाको स्वरूप दिएको थियो । 

लुम्बिनी प्रदेशका सांसद बैजनाथ कलवारले पनि मन्दिरमा पुगेर विधिपूर्वक खिचडी चढाई बाबाको आशीर्वाद ग्रहण गरे । उनले मकर संक्रान्तिका दिन बाबा गोरखनाथलाई खिचडी अर्पण गर्ने परम्परा लामो समयदेखि चलिआएको उल्लेख गर्दै यस पर्वले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आएको बताए ।

यस अवसरमा नेपालका नवलपरासी,त्रिवेणी धाम,बर्दघाट, बुटवल, भैरहवा, सुनवललगायत स्थान तथा भारतको ठुठीबारी, रामनगर, बरगदवान र आसपासका दर्जनौँ गाउँबाट श्रद्धालुहरू मन्दिर आएका थिए । मन्दिर परिसर तथा आसपास आयोजना गरिएको मेलामा झुला, रमाइलो राउन्ड, सर्कस र कुस्ती जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसले बालबालिका र युवायुवतीलाई विशेष आकर्षण प्रदान गरेको थियो । 

भीड व्यवस्थापन र शान्ति सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ तैनाथ गरिएको थियो ।  सुरक्षाकर्मीहरूको सक्रियताका कारण मेला शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको स्थानीयवासीहरूले बताएका छन् । 

मिनी गोरखनाथ मन्दिर ६ नोभेम्बर २०१२ मा योगी आदित्यनाथद्वारा निर्माण गरिएको हो । मन्दिर स्थापना समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाहको समेत सहभागिता रहेको थियो । गोरखनाथ परम्परासँग जोडिएको यस मन्दिरका गोरक्ष पीठाधीश्वरसमेत योगी आदित्यनाथ नै हुन्, जो हाल भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री पनि हुन् । 

मन्दिर व्यवस्थापन समितिका अनुसार माघी (मकर) संक्रान्तिको अवसरमा यहाँ लाग्ने खिचडी मेला पछिल्ला करिब १४ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । मन्दिर निर्माण तथा व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल रहेका छन् भने मन्दिरका पुजारी राम सुरत वर्मा र मेला संयोजक किशोर खटिक रहेका छन् । 

यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा भक्तजनहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धार्मिक आस्था, परम्परा र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको यो खिचडी मेलाले गोरखनाथ परम्पराको महत्वलाई अझ उजागर गरेको स्थानीयहरूको भनाइ छ ।

सम्बन्धित खबर