२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

स्थानीयको मन जित्दै छाया विशेषज्ञ अस्पताल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ १ गते २१:२९
Shares
स्थानीयको मन जित्दै छाया विशेषज्ञ अस्पताल

अर्घाखाँची : बिकट जिल्ला भनेर चिनिने अर्घाखाँचीमा अत्याधुनिक सेवासहित सञ्चालनमा आएको छाया विशेषज्ञ अस्पतालले स्थानीय बिरामीको मन जित्न सफल भएको छ । सन्धिखर्क नगरपालिका–१ शान्ति बगैचामुनि रहेको २४ बेडको छाया विशेषज्ञ अस्पताल प्रालि सञ्चालनमा आएपछि जिल्लावासी उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घटेको छ ।

अस्पताल सञ्चालनमा आएपछि सामान्यदेखि जटिल रोगसम्मको उपचार जिल्लामै सम्भव भएपछि स्थानीय बासिन्दा लाभान्वित भएका छन् । सन्धिखर्कमै अत्याधुनिक सेवा उपलब्ध भएपछि उपचारका लागि बुटवल, काठमाडौं तथा अन्य शहर धाउनुपर्ने समस्या हटेको स्थानीय नारायण भट्टराईले बताए ।

अस्पतालका फिजिसियन तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रदीप जंग केसीका अनुसार अर्घाखाँचीमा शल्यक्रियासहितको सुविधा नहुँदा सामान्य रोगका बिरामीसमेत बाहिर जानुपर्ने अवस्था थियो । यही समस्यालाई मध्यनजर गर्दै करिब चार वर्षअघि अस्पताल सञ्चालन गरिएको र हाल सिटी स्क्यान सेवा समेत उपलब्ध गराइएको उनले जानकारी दिए । 

अस्पतालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी दलबहादुर केसीका अनुसार अस्पतालमा फिजिसियन सेवा, मुटु रोग सेवा, महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, सिटी स्क्यान, ईसीजी र सर्जरी सेवासहितका सुविधा उपलब्ध छन् ।

अस्पतालमा एपेन्डिसाइटिस, सिजेरियन सेक्शन, इक्टोपिक सिएसजस्ता शल्यक्रिया गर्न सकिने कन्सल्टेन्ट डाक्टर नीता श्रेष्ठले बताए । जटिल सुत्केरीको सफल शल्यक्रिया समेत अस्पतालबाट नियमित रूपमा हुँदै आएको उनको भनाइ छ ।

बुटवलमा बसेर लामो समय बिरामीको उपचार गर्दै आएकी डा.श्रेष्ठ आफ्नै जिल्लामा सेवा गर्ने उद्देश्यले चार वर्षअघि अर्घाखाँची आएर अस्पताल सञ्चालनमा संलग्न भएको अस्पताल प्रशासनले जनाएको छ ।

सामान्य रोग लाग्दा पनि उपचारका लागि बुटवल, पाल्पा, चितवन र काठमाडौं जानुपर्ने बाध्यता रहेको अर्घाखाँचीमा छाया अस्पतालले निरन्तर विशेषज्ञ सेवा दिन थालेपछि जिल्लावासी खुसी भएका छन् ।

सन्धिखर्कमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि अर्घाखाँचीका साथै छिमेकी जिल्ला गुल्मी, प्युठान र पाल्पाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । विशेषगरी सिटी स्क्यान सेवा लिन ती जिल्लाबाट बिरामी आउने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर