
काठमाडौं : देश निर्वाचनमा होमिएको छ । राजनीतिक दलहरू आआफ्नो चुनावी तयारीमा जुटेका छन् । निर्वाचन सुरक्षामा भने अझै आशंका छन् । त्यसको एउटा मुख्य कारण गत भदौ २४ गते नेपाल प्रहरीबाट लुटिएका हतियार फिर्ता गर्न र जेलबाट भागेका कैदीलाई नियन्त्रणमा लिन नसक्नु रहेको छ ।
काठमाडौं केन्द्रीय कारागारबाट भागेका मात्र १ हजार २ सय कैदी अझै फरार छन् । कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा जेलबाट भागेका ती कैदीहरू जेल बाहिर हुँदा सुरक्षा चुनौती कायमै छ । सुन्धारास्थित केन्द्रीय कारागारका अनुसार, कारागारमा जम्मा ३ हजार ८ सय जना कैदी थिए । आन्दोलनको मौका छोपेर कारागार तोडफोड गरेर ३ हजार ५ सय १६ कैदी भागेको केन्द्रीय कारागारका प्रवक्ता वैकुण्ठ रेग्मी बताउँछन् ।
देशभरका कारागारबाट अझै ४ हजार २ सय १४ जना कैदी जेलबाहिर रहेको केन्द्रीय कारागार व्यवस्थापन विभागले जनाएको छ । तीमध्ये ५ सय १६ वटा भारतीय नागरिक कैदी कारागार तोडफोड गरेर भागेका थिए । उनीहरू लुटपाट, लागूपदार्थ ओसारपसारमा संलग्न, हत्या, सांगठनिक अपराधमा संलग्नताको कसुरमा कारागारमा पुगेका थिए । भारतबाहेकका अन्य देश भियतनाम, चीन, दक्षिण अफ्रिका, बंलादेश, मलेसिया, अमेरिका, युगान्डा, युक्रेन, उज्बेकिस्तान, नाइजेरिया, भुटान सुडानलगायतका देशका ८९ कैदी पनि जेल तोडेर भागेका छन् । उनीहरू पनि लागूऔषध कारोबारी, हत्या, कुटपिटलगायतमा संलग्न रहेको विभागले जनाएको छ । कर्तव्य ज्यान, हत्या, जबरजस्तीकरणी, चोरी, डकैतीलगायतका विभिन्न अपराध गरेर जेल चलान भएका कैदी भागेका छन् । ‘भागेका केही कैदीहरू आफैं सम्पर्कमा पनि आएका छन्’, विभागका निर्देशक चोमेन्द्र न्यौपानेले भने ‘बाँकीलाई प्रहरीले खोजिरहेको छ ।’
कैदीहरू मात्रै होइन लुटिएका करिब ५ सय थान हतियार पनि अझै भेटिएको छैन । जुन जेनजी आन्दोलन क्रममा लुटिएका थिए । आन्दोलनका क्रममा करिब १४ सय अत्याधुनिक हतियार प्रहरीबाट लुटिएका थिए । नौ सयजति हतियार भने प्रहरीले नियन्त्रणमा लिइसकेको नेपाल प्रहरीले जनाएको छ । जेलबाहिर रहेका कैदी र हतियारकै कारण निर्वाचन सुरक्षामै असर भने नपर्ने प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेको दाबी छ । ‘कारागार तोडेर भागेका अधिकांश कैदीहरू भारततर्फ भागेको प्रहरीको अनुमान छ,’ उनले भने, ‘उनीहरुकै कारण निर्वाचनमा असर पर्ने देखिँदैन् । धेरैजसो हतियार प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।’ प्रहरीले नियन्त्रणमा लिएका हतियार पनि पुनः उपयोग हुने अवस्थामा थिएनन् । लुटिएका हतियार पनि प्रयोग गर्न लायक नभएको टिप्पणी काफ्लेले गरेका छन् । तर लुटिएका हतियार र भागेका कैदीहरूको निगरानी भने प्रहरीले गरिरहने उनले बताए । ‘हामी लुटिएका हतियार र भागेका कैदीहरूको निरन्तर निगरानीमै छौं,’ उनले भने, ‘त्यसैका कारणले मात्र निर्वाचन सुरक्षामा कुनै असर पर्दैन, ढुक्कले शान्तिपूर्ण निर्वाचन हुन्छ ।’
कारागार विभागले तोकेको समयसीमाअनुसार गत असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक गरिएको थियो ।
प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए । यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधार गृहबाट ९ सय ६३ बालबन्दी भागेका थिए ।