
रौतहट : रौतहटको गौरमा अत्याधुनिक कृषि तथा पशु सेवा केन्द्र र २२५ मेट्रिक टन क्षमताको कोल्ड स्टोर स्थापना गरी सञ्चालनमा ल्याइएको छ । शुक्रबार आयोजित एक भव्य समारोहबीच संघीय कृषि तथा पशुपक्षी विकास मन्त्री माननीय डा.मदन परियार र गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले संयुक्त रूपमा कृषि तथा पशु सेवा केन्द्रको भवन र कोल्ड स्टोरको उद्घाटन गरेका हुन् ।
गौर नगरपालिका वडा नम्बर १ स्थित तरकारी बजारमा निर्माण गरिएको कृषि तथा पशु सेवा केन्द्र र वडा नम्बर २ मा निर्माण सम्पन्न कोल्ड स्टोरले रौतहट जिल्लाभरिका किसानहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा.मदन परियारले कृषि प्रधान देशमा किसानलाई प्रविधिसँग जोड्न यस्ता सेवा केन्द्रहरू अत्यन्त महत्वपूर्ण हुने बताए ।
उनले अब रौतहटका किसानहरूले माटो परीक्षण, बिउ–बिजन परीक्षण वा पशुको जटिल उपचारका लागि अन्य जिल्ला वा राजधानी धाउनुपर्ने बाध्यता हट्ने उल्लेख गरे । स्थानीय स्तरमै आधुनिक प्रविधि र विशेषज्ञ सेवा उपलब्ध गराएर कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास उनले व्यक्त गरे ।
नगर प्रमुख शम्भु साहले गौर नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यका साथ यी परियोजना अघि बढाइएको जानकारी दिए ।
उनले २०८१ साल साउन ३२ गते शिलान्यास गरिएको भवन निर्धारित समयमै निर्माण सम्पन्न गरी किसानलाई हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको बताए ।
करिब २ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको कृषि तथा पशु सेवा केन्द्रमा माटो परीक्षण, बिउ–बिजन परीक्षण, बालीमा लाग्ने रोग तथा किराको पहिचान र उपचार, पशुको रगत, दिसा–पिसाब परीक्षण, पशु शल्यक्रिया, कृत्रिम गर्भाधान, अल्ट्रासाउण्ड तथा आधुनिक एक्स–रे सेवा उपलब्ध छन् । साथै कृषकहरूलाई आधुनिक खेती प्रणाली र पशुपालनसम्बन्धी तालिम दिन ५० जना क्षमताको अत्याधुनिक सेमिनार हल पनि निर्माण गरिएको छ ।
त्यसैगरी, २२५ मेट्रिक टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरूले आफ्ना उत्पादन सुरक्षित रूपमा भण्डारण गर्न पाउनेछन् । यसअघि भण्डारणको अभावमा किसानहरूले उपज सस्तो मूल्यमा बेच्नुपर्ने वा कुहिएर नष्ट हुने समस्या भोग्दै आएका थिए । अब उचित मूल्य पाएको समयमा उत्पादन बिक्री गर्न सकिने भएकाले किसानलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा गौर नगरपालिकाकी उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सुभास ठाकुर, विभिन्न वडाका वडाध्यक्षहरू, कृषि विज्ञ तथा स्थानीय किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नगरपालिकाका अनुसार कृषि तथा पशु सेवा केन्द्र र कोल्ड स्टोर दुवै सेवा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् ।