
रौतहट : रौतहटका ‘जेन जेड’ युवाहरूले भ्रष्टाचार, अत्याचार र बेथितिविरुद्ध एकजुट भएर अघि बढ्ने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम गौर नगरपालिका–४ स्थित प्रसिद्ध सोवर्णा माई मन्दिरको प्रांगणमा शनिबार युवाहरूबीच एक बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
अरुण पटेल र भोला साहको नेतृत्वमा आयोजित कार्यक्रममा समाजमा जरो गाडेर बसेको भ्रष्टाचार र विकृतिविरुद्ध नयाँ पुस्ता जुर्मुराउनुपर्नेमा जोड दिइएको छ । सहभागी वक्ताहरूले वर्तमान अवस्थामा युवा वर्ग केवल दर्शक बनेर बस्न नहुने धारणा राख्दै, सामाजिक सञ्जाल र प्रविधिको युगमा हुर्किएको ‘जेन जेड’ पुस्ताले समाज सुधारका लागि रचनात्मक र दबाबमूलक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
छलफलका क्रममा युवाहरूले विद्यालयदेखि सरकारी कार्यालयसम्म समाजका हरेक गतिविधिमा सूक्ष्म निगरानी राख्ने निर्णय गरेका छन् । उनीहरूले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती, अनियमितता तथा सार्वजनिक सेवा प्रवाहमा देखिने भ्रष्टाचारलाई न्यूनिकरण गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमले यो सक्रियतालाई एक दिनको भेलामा मात्र सीमित नराखी संस्थागत रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ । यसअनुसार प्रत्येक शनिबार नियमित बैठक बस्ने, अघिल्लो हप्ताका गतिविधिको समीक्षा गर्ने, अभियानलाई कानुनी र व्यवस्थित बनाउन चाँडै दर्ता प्रक्रिया अघि बढाउने तथा विद्यालय र समुदायस्तरमा भ्रष्टाचारविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा गौर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट करिब १ सय जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले ‘युवा एकता जिन्दाबाद’ र ‘भ्रष्टाचार मुक्त समाज’ जस्ता नाराहरू लगाउँदै आफ्नो ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रमको समापन गर्दै अभियानका नेतृत्वकर्ताहरूले युवाहरूको सक्रिय सहभागिताले मात्र समुन्नत र न्यायपूर्ण समाज निर्माण सम्भव हुने बताएका छन् । साथै, यो अभियान कुनै राजनीतिक स्वार्थका लागि नभइ विशुद्ध सामाजिक सुधार र सुशासनका लागि सञ्चालन गरिएको स्पष्ट पारेका छन् ।