
इटहरी : सुनसरीको इटहरी–२ स्थित आयुर्वेदिक टोलमा रहेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको पहिलो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
केन्द्रकी कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा भावी कार्ययोजना प्रस्तुत गर्दै विभिन्न समिति गठन गरिएको छ । सुवेदी कल्याण परिषद्का केन्द्रीय सदस्य भुलराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सभाले आगामी फागुन ३ गते शिवरात्रिको अवसरमा इटहरी–२ स्थित १०८ शिवलिंग परिसरलाई ‘त्रिनेत्र मोक्षधाम’ नामाकरण गर्दै भव्य रूपमा समुद्घाटन गर्ने निर्णय गरेको छ ।
साधारणसभाले केन्द्रलाई दीगो रूपमा सञ्चालन गर्न विभिन्न समिति गठन गर्ने प्रतिबद्धता समेत जनाएको छ । १०८ शिवलिंग निर्माण समिति संयोजक बाबुराम सुवेदीका अनुसार त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र दीगो पूजा व्यवस्थापन समिति, शिवरात्री आयोजक समिति, अक्षयकोष निर्माण समिति लगायतका समिति गठन गरी काम अघि बढाइनेछ ।
त्यसैगरी, आगामी माघ १५ गते नवलपरासीमा हुने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको अधिवेशनमा कोशी प्रदेशबाट सहभागी हुने प्रतिनिधि छनोटलगायत विषयमा पनि छलफल भएको केन्द्रकी कोशी प्रदेश सचिव प्रतिक्षा प्राप्ती अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष हिरा आचार्य, सुनसरी अध्यक्ष सुशिला सिटौला लगायत विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशलाई धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गर्ने उद्देश्यसहित केन्द्रले विभिन्न योजना कार्यान्वयन गर्दै आएको छ । अध्यात्मका माध्यमबाट मानव जीवनलाई सहज र सरल बनाउने उद्देश्य बोकेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले इटहरीमा १०८ शिवलिङ्ग निर्माण गरी धार्मिक पर्यटन प्रवर्धन गर्दै आएको छ ।
केन्द्रकै संकल्पमा गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्संग कार्यक्रम पनि भव्य रूपमा सम्पन्न गरिएको थियो । सो अवसरमा कोशी प्रदेशसहित मुलुकका विभिन्न जिल्ला तथा भारतका विभिन्न क्षेत्रबाट आएका एक लाखभन्दा बढी भक्तजनहरूले १०८ शिवलिंगको अवलोकन तथा दर्शन गरेका थिए ।