
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गरेका छन् । इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक संकट र शासनप्रति जनआक्रोश तीव्र बन्दै जाँदा सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।
पोलिटिकोसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्वले सत्ता जोगाइराख्न हिंसा र दमनको सहारा लिएको आरोप लगाए । “देशको नेताका रूपमा उहाँ आफ्नो देशको लगभग पूर्ण विनाश र इतिहासमै नदेखिएको स्तरको हिंसाको प्रयोगका लागि जिम्मेवार हुनुहुन्छ”, ट्रम्पले पोलिटिकोमार्फत भने, “देश चलाइराख्न त्यो काम निम्न स्तरको भए पनि नेतृत्वले आफ्नै देशलाई सही तरिकाले सञ्चालन गर्न ध्यान दिनुपर्छ, जसरी मैले संयुक्त राज्य अमेरिकामा गरेको छु । नियन्त्रण कायम राख्न हजारौँ निर्दोष मानिसहरू मार्न आवश्यक हुँदैन ।”
राष्ट्रपति ट्रम्पका अनुसार साँचो नेतृत्व डर र मृत्युमाथि होइन, सम्मानमाथि निर्माण हुन्छ । उनले व्यक्तिगत रूपमा खमेनीको आलोचना गर्दै उनलाई ‘एक बिरामी मानिस’को संज्ञा दिए र इरानलाई कमजोर नेतृत्वका कारण संसारमा बस्न सबैभन्दा खराब स्थानमध्ये एक भएको टिप्पणी गरे । “उहाँले आफ्नो देश राम्रोसँग चलाउनुपर्छ र आफ्नै नागरिकलाई मार्न बन्द गर्नुपर्छ”, ट्रम्पले भने ।
राष्ट्रपति ट्रम्पको यो टिप्पणी इरानी सर्वोच्च नेता खमेनीले सामाजिक सञ्जाल एक्समा शृंखलाबद्ध पोस्ट गर्दै इरानमा भइरहेको अशान्ति र हताहतका घटनाका लागि अमेरिकालाई दोष लगाएपछि आएको हो । खमेनीले अमेरिकी राष्ट्रपतिमाथि इरानी जनताको वास्तविक इच्छालाई गलत रूपमा चित्रण गर्दै हिंसात्मक समूहहरूलाई समर्थन गरेको आरोप लगाएका छन् ।