२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सूर्यगढी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

shivam cement
२०८२ माघ ४ गते २१:२९
Shares
सूर्यगढी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

काठमाडौं : नुवाकोटको सूर्यगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवनको उद्घाटन गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत, बागमती प्रदेशसभा सदस्य रमेश कुमार महत, पूर्व संघीय सांसद बिमला सुबेदी र पूर्वप्रदेश सांसद बद्री मैनालीले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । 

समारोहमा गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङका शब्द रहेको ‘पानी ड्वाँचेको’ शीर्षकको काँठे लोकगीत विमोचन गरिएको थियो । साथै दोहोरी गीत तथा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीबाट नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रमकै अवसरमा गाउँपालिकाको विकास, खेलकुद तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति, खेलाडी, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय र विषयगत शिक्षकलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटमा पूर्वाधार विकास र ककनी सडक निर्माणमा विगतदेखि हालसम्म उल्लेख्य बजेट विनियोजन भएको दाबी गरे । यस क्रममा एमालेका युवा नेता तथा पूर्व प्रदेश सांसद बद्री मैनालीले संघीय सरकारले विनियोजन गरेको बजेटलाई एकपक्षीय रूपमा श्रेय लिने प्रयासप्रति आपत्ति जनाए । उनले आफू प्रदेश सांसद रहँदा नुवाकोटको विकासका लागि महत्वपूर्ण काम भएको दाबी गरे ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीकी महिला नेतृ तथा पूर्व संघीय सांसद बिमला सुवेदीले ककनी सडक निर्माण तत्कालीन प्रधानमन्त्री प्रचण्डको कार्यकालमा अघि बढेको बताउँदै विकासका काममा एक्लै श्रेय लिने प्रवृत्ति उचित नभएको धारणा राखिन् । 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेश महत, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, नेकपा जिल्ला प्रमुख पुष्प लामिछाने, समाजसेवी अर्णबहादुर प्याकुरेललगायतले पनि सम्बोधन गरेका थिए ।

यस अवसरमा सूर्यगढी गाउँपालिकाको शिक्षा र नागरिक सेवामा योगदान पुर्‍याएको भन्दै पत्रकार तथा सामाजिक अभियन्ता सुशान्त न्यौपानेलाई सम्मान पत्र प्रदान गरिएको थियो । न्यौपानेले गत वर्ष सूर्यगढी गाउँपालिका वडा नं.३ र ४ का विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेका थिए भने यस वर्ष वडा नं. १ र २ का १० विद्यालयका ७ सयभन्दा बढी विद्यार्थीलाई विद्यालय पोसाक, ट्र्याकसुट, टिसर्ट, टोपी, स्वेटर, झोला र स्टेशनरी सामग्री वितरण गरेका थिए । उक्त सहयोग गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र लच्याङका विद्यालयहरूमा गरिएको थियो ।

सम्बन्धित खबर