२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सशस्त्र प्रहरीको रजत महोत्सवमा पूर्व-पश्चिम झण्डा मार्च

shivam cement
विनोद निगम
२०८२ माघ ७ गते १२:५९
Shares
सशस्त्र प्रहरीको रजत महोत्सवमा पूर्व-पश्चिम झण्डा मार्च

पश्चिम नवलपरासी : २५औं सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को अवसरमा आयोजना गरिएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम बुधबारदेखि पश्चिम नवलपरासीबाट औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय एकता, सीमासुरक्षा र संगठनको गौरव झल्काउने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रमले सीमावर्ती क्षेत्रमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाल–भारत सिमाना क्षेत्रअन्तर्गत पाल्हिनन्दन गाउँपालिका–६ स्थित पडरी कब्रस्थानको सहायक सीमा स्तम्भ नं. ५०९/१(१५) तथा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–५, बरुवास्थित मुख्य सीमा स्तम्भ नं. ५१०(१६) बाट झण्डा हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमअनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण (हेडक्वाटर रुपन्देही) का गणपति मेखराज जोशीको कमाण्डमा खटिएको ३५ जनाको टोलीले सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण (हेडक्वाटर पश्चिम नवलपरासी) का गणपति सन्तोष रायमाझीको कमाण्डमा खटिएको ३५ जनाको टोलीलाई नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डा हस्तान्तरण गरेको छ । झण्डा हस्तान्तरणसँगै झण्डा मार्च नवलपरासी जिल्लामा प्रवेश गर्दै औपचारिक रूपमा अघि बढेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार झण्डा मार्च कार्यक्रम जिल्लाका प्रमुख बजार, सीमावर्ती बस्ती तथा संवेदनशील नाकाहरू हुँदै अघि बढ्नेछ । मार्चका क्रममा स्थानीय समुदायसँग अन्तर्क्रिया, सुरक्षासम्बन्धी जनचेतना सन्देश प्रवाह तथा संगठनको भूमिका र योगदानबारे जानकारी गराइने कार्यक्रमसमेत समावेश गरिएको छ ।

रजत जयन्तीको उपलक्ष्यमा सञ्चालन भइरहेको यो पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम शुक्रबारसम्म लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशलाई हस्तान्तरण गरिनेछ । अन्ततः ठोरीस्थित बिओपीमा संगठन प्रमुखको उपस्थितिमा कार्यक्रम समापन गर्ने कार्यतालिका रहेको छ ।

झण्डा मार्च शुभारम्भ कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, भारतीय सशस्त्र सीमा बल (एसएसबी) २२ बटालियनका ए–कम्पनी कमाण्डर मयंक गुप्ता, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैबीच, झण्डा मार्च कार्यक्रममा आई.डी. नं. ३५०८ का सशस्त्र प्रहरी निरीक्षक सन्तोष थापाको कमाण्डमा ३५ जना जवान सहभागी रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण पश्चिम नवलपरासीका सूचना अधिकारी तथा नायब उपरीक्षक गोविन्द बहादुर केसीले झण्डा मार्चले संगठनप्रतिको जनविश्वास थप सुदृढ हुने र सीमासुरक्षामा सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर