२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

२० वर्षमै प्रधानाध्यापक

नाम : रक्षाकुमारी यादव, उमेर : २० वर्ष, पद : प्रधानाध्यापक, ठेगाना : सरस्वती आधारभूत विद्यालय, बबई–७ जलजला । झट्ट सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर दाङको देउखुरीस्थित राजपुर गाउँपालिका–३ भैरहवाकी रक्षाकुमारी यादवले २० वर्षमै सरकारी विद्यालयको प्रधानाध्यापक बनेर धेरैलाई प्रेरणा दिइरहेकी छिन् ।

shivam cement
सपना बोहरा
२०८२ माघ ८ गते ०९:२१
Shares
२० वर्षमै प्रधानाध्यापक

काठमाडौं : नाम : रक्षाकुमारी यादव, उमेर : २० वर्ष, पद : प्रधानाध्यापक, ठेगाना : सरस्वती आधारभूत विद्यालय, बबई–७ जलजला । झट्ट सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर दाङको देउखुरीस्थित राजपुर गाउँपालिका–३ भैरहवाकी रक्षाकुमारी यादवले २० वर्षमै सरकारी विद्यालयको प्रधानाध्यापक बनेर धेरैलाई प्रेरणा दिइरहेकी छिन् । यादव समुदायमा अझै पनि छोरीहरूलाई उच्च तहको शिक्षा दिने चलन छैन । सामान्य शिक्षा दिएर सानै उमेरमा विवाह गरिदिने चलन अहिले पनि गाउँघरमा कायमै छ । तर रक्षाकुमारी भने त्यो चलनलाई तोड्दै विद्यालयको प्रधानाध्यापक बन्न सफल भएकी हुन् । 

छोरीलाई पढाएर के हुन्छ ? भन्ने यादव समुदायकी छोरी उदाहरणीय पात्र बनेकी छन् । ‘म पढ्छु चाँडै विवाह गर्दिनँ भनेर बुबाआमालाई सम्झाएँ, उहाँहरू मान्नुभयो,’ उनले मध्यान्हसँग भनिन्, ‘मैले अहिले छोरीलाई पढाउँदा के हुन्छ भन्ने जवाफ दिइरहेको छु ।’ 

उनले दाङको बबई गाउँपालिका–७ जलजलास्थित सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छिन् । लगनशीलता, दृढता र कार्यक्षमताले प्रधानाध्यापक बन्न सफल भएको उनी बताउँछिन् । ‘विशेषगरी यादव समुदायका छोरीहरूलाई सानै उमेरमा बिहे गरिदिने चलन छ,’ उनले भनिन्, ‘समाजमा रहेका गलत संस्कृति हटाउने हो, पढ्दै पढाउँदै गर्ने होे ।’

बालबालिकालाई गुणस्तरयुक्त शिक्षा दिनु नै अहिले उनको काम बनेको छ । प्रधानाध्यापकका रूपमा उनले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन् । 

रक्षाकुमारीको समुदायमै छोरीलाई सानैमा बिहे गरिदिने, नपढाउने प्रचलन थियो । सानैदेखि पढाइमा अब्बल रहेकीले परिवारले उनलाई पढ्न रोकेन । गाउँमा उनको उमेरका धेरै युवाहरूको बिहेबारी भइसकेको छ । तर, उनी विद्यालयको शिक्षा सुधार्ने अभियानमा लागेकी छिन् । ‘उमेर होइन, जिम्मेवारी र दृष्टिको महत्व हुन्छ । गाउँका बालबालिकालाई गुणस्तरयुक्त शिक्षा उपलब्ध गराउनु नै मेरो पहिलो लक्ष्य हो,’ उनले भनिन्, ‘समाजमा रहेका गलत संस्कृति हटाउने हो ।’

उनी प्राधानाध्यापक भएर विद्यालयमा जान थालेपछि उनको समुदायमा छोरीलाई पनि पढाउनुपर्नेरहेछ भन्ने सन्देश गएको उनी बताउँछिन् । उनका बुवाआमा किसान हुन् । उनीसहित चार जना छोराछोरी छन् । सामान्य परिवारकी रक्षालाई कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनका लागि क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी नेपाल)को आर्थिक सहयोग गरेको थियो । कक्षा १२ दिएलगत्तै शिक्षकको लाइसेन्स परीक्षा दिएकी थिइन् उनले । मुख्य विषय अंग्रेजी लिएर पढेकी यादवले त्यही समयमा शिक्षा आयोग उत्तिर्ण गरेपछि २०८० सालको चैत २७ गते बबईमा हाजिर भइन् । 

रक्षाले विद्यालय तहको शिक्षा शंकर मावि राजापुर ३ बाट गरिन् भने ११ र १२ बुद्धज्योति मावि गढवाबाट पूरा गरिन् । त्यसपछि स्नातक तह भने देउखुरी बहुमुखी क्याम्पस लमहीबाट केही दिनअघि मात्रै पूरा गरेकी हुन् । अब एमए पनि अंग्रेजीमै गर्ने उनको योजना छ । प्रधानाध्यापकका रूपमा उनले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन् । 

ताजा खबर

सम्बन्धित खबर