
काठमाडौं : सानोठिमी बाल सुधार गृहमा माघ ८ गते राति कैदी–कैदीबीच झडप भयो । झडपमा १३ जना घाइते भए । घाइतेमध्ये दुई जना अस्पतालमा उपचाररत छन् । झडपको क्रममा आगजनीसमेत भयो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली सुधार गृहभित्र छिर्न खोजे पनि सुधार गृहमा रहेकाहरूले ढुंगामुढा गरेपछि प्रहरी रोकिएको थियो । झडपपछि १ सय ६२ जनालाई स्थानान्तरण गरी सुधार गृह खाली गराइएको छ ।
सुधार गृहमा एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डिएसपी प्रकाश जगेबुले बताएका छन् ।
उक्त बाल सुधार गृहमा जम्मा १ सय ६४ जना थिए । आगजनी लगाएर भवन ध्वस्त बनाएपछि अहिले सबैलाई स्थानान्तरण गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बालसुधार निगरानी कक्षमा राखिएको छ ।
सुधार गृहमा मात्रै होइन । कारागारमा पनि कैदी कैदीबीच झडप हुने गरेको छ । झडपमा कैदीले ज्यान नै गुमाएका छन् भने कारागारका भौतिक संरचनासमेत क्षति पुर्याएका छन् ।
त्यस्तै, गत साउन २४ गते कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जना कैदीबन्दीको मृत्यु भयो । अन्य ४७ जना घाइते भए ।
झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो । घाइते ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । त्यति मात्रै होइन त्यही कारागारमा २८ असारमा पनि कैदीबन्दीहरूले कुटाकुट गरेका थिए । त्यस समयमा कारागारका नाइके खगेन्द्र बोगटी कुटिएका थिए ।
नाइकेमाथि कुटपिट भएपछि कैदीबन्दीहरूले जेलर वसन्त खत्रीविरुद्व नाराबाजीसमेत गरेका थिए ।
त्यस्तै साउन २६ गते अछाम जिल्लाको कारागारमा पनि कैदीबीच अचानक झडप भयो । कारागारभित्र रहेका कैदीबन्दीहरूले आक्रोशित हुँदै तोडफोड तथा आगजनीको प्रयास गरे । जसले गर्दा अवस्था तनावपूर्ण बन्यो । प्रहरीका अनुसार केही कैदीहरूले जेल प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको बताएका थिए । उनीहरूले जेलका केही भागमा तोडफोड गर्नुका साथै आगजनीको प्रयाससमेत गरे । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त बल परिचालनसमेत गरेर नियन्त्रण लिइएको थियो । झडपमा परी केही कैदी घाइतेसमेत भए ।
पुराना कारागार, त्यसमा कैदीहरू दिनहुँ प्रायः थपिँदै छन् । कारागारमा नै कैदीबीच झडप हुने घटना बाहिरिएका छन् । कारागार व्यवस्थापन विभागमा भने घटनाको यकिन विवरण छैनन् । तर समयसमयमा कारागारमा कैदीहरूको झडप भइरहन्छ ।
गृहमन्त्री अर्यालले भने सानोठिमी बालगृहमा आधारभूत मानवअधिकार परिपूर्तिका लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएका छन् । ‘कुनै पनि किसिमको दण्डहीनता स्वीकार्य हुँदैन,’ उनले भने, ‘यस्ता समस्या दोहोरिन दिनुहुँदैन ।’ उनले आफ्ना मातहतका निकाय तथा सुरक्षा निकायका पदाधिकारीलाई तयारी रहन निर्देशनसमेत दिए ।
बालबालिका ऐन, २०७५ ले बालबालिकाले गरेको कसुर अपराध नभई गल्ती हो भन्ने मनसायमा अपराध गरेका बालबालिकालाई सुधार र पुनर्स्थापनाका लागि बाल सुधार गृह स्थापना गरिने व्यवस्था गरेको र सोहीबमोजिम अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नलाई सुधार गृह पठाउने गर्दै आएको छ ।
अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानीबेहोरामा आएको सुधार, आर्जन गरेको सिप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्न दुवै मन्त्रीले अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायत निकायको समन्वयमा १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई यथाशीघ्र स्थानान्तरण गर्न आफ्ना मातहतका निकाय तथा अधिकारीहरूलाई निर्देशन दिएका थिए ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले कैदीकैदीबीच मतभेदले कारागारमा झडप हुने गरेको उनले बताए । ‘विभिन्न अपराधमा संलग्न भएर कारागारमा आएका हुन्छन्,’ उनले भने, ‘मतभेद हुन्छ अनि कैदीकैदीबीच झडप हुन्छ ।’ क्षमताभन्दा बढी कैदी भएका कारण पनि कैदीबीच झगडा हुने गरेको उनले बताए । ‘अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदी छन्,’ उनले भने, ‘क्षमताभन्दा वढी कैदी भएर नै झडप भएको चाहिँ भन्न मिल्दैन ।’ उच्छृंखल गतिविधि गर्नेलाई सम्झाइबुझाइ गर्ने र अन्यत्र कारागार सारिने उनले बताए । ‘झडप भएका कारागारमा प्रहरीले समयमा नियन्त्रण लिने गरेको छ,’ उनले भने ।