२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

महेशपुर भन्सार मिनी सुख्खा बन्दरगाह बनाउने पहिलो प्राथमिकता : उम्मेदवार थापा

shivam cement
विनोद निगम
२०८२ माघ ११ गते २१:३५
Shares
महेशपुर भन्सार मिनी सुख्खा बन्दरगाह बनाउने पहिलो प्राथमिकता : उम्मेदवार थापा

नवलपरासी : नेपाली कांग्रेसका तर्फबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार भिमबहादुर थापा क्षेत्रीले लोकतन्त्रको सुदृढीकरण पार्टी एकता र जनताको आवाज संसदसम्म पुर्‍याउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । 

सुनवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । उनले नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा पुरानो, संगठित र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित पार्टीको रूपमा चित्रण गर्दै पार्टी सधैं नागरिक अधिकार,समावेशिता, सुशासन र सामाजिक न्यायको पक्षमा उभिँदै आएको बताए । 

लोकतन्त्रको मर्म : नागरिकको प्रश्न गर्ने अधिकार पत्रकारहरूसँगको अन्तरक्रियामा थापा क्षेत्रीले लोकतन्त्रको वास्तविक मर्म नागरिकको स्वतन्त्र अभिव्यक्ति र अधिकार सुनिश्चित गर्नु भएको स्पष्ट पारे । ‘लोकतन्त्रको आत्मा भनेको नागरिकले निर्भीक रूपमा प्रश्न गर्न पाउनु र आफ्नो अधिकार माग्न सक्नु हो,’ उनले भने, ‘दबिएका,ओझेलमा परेका र आवाजविहीन नागरिकका आवाजलाई राज्यको मूल धारमा ल्याउनु हाम्रो प्रमुख दायित्व हो ।’ उनले लोकतान्त्रिक अभ्यास कमजोर हुँदा नागरिक अधिकार संकुचित हुने खतरा रहने उल्लेख गर्दै त्यसलाई मजबुत बनाउन जनप्रतिनिधि जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा राखे । पार्टीभित्र द्वन्द्व नरहेको दाबी नेपाली कांग्रेसभित्र टिकट वितरणका क्रममा देखिएका चर्चाबारे प्रतिक्रिया दिँदै थापाले त्यसलाई सामान्य राजनीतिक प्रक्रिया भएको बताए ।

निर्वाचन आयोगले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि विभिन्न आकांक्षीका आ–आफ्ना दाबी हुनु स्वाभाविक भएपनि हाल पार्टीभित्र कुनै किसिमको विवाद वा द्वन्द्व नरहेको उनको दाबी थियो । 

‘पार्टीको आधिकारिक निर्णयपछि सबै नेता तथा कार्यकर्ता एक ढिक्का भएका छन्,’ उनले भने, ‘अहिले नेपाली कांग्रेस पूर्ण रूपमा एकताबद्ध भई निर्वाचनमा होमिएको छ ।’ चारतारे झण्डा र रुख चिन्हमुनि एकता आगामी निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्दै थापाले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरू चारतारे झण्डा र रुख चिन्हमुनि गोलबन्द भइसकेको बताए । 

‘पार्टीको निर्णय सबैका लागि सर्वोपरी हुन्छ । अहिले कुनै मनमुटाव छैन, सबै कांग्रेसको झण्डामुनि उभिएका छौं,’ उनले भने, ‘यसको सकारात्मक परिणाम जनता स्वयंले अनुभूति गर्नुहुनेछ ।’

नगरप्रमुखको कार्यकाल र अनुभव आफ्नो विगतको कार्यसम्पादन स्मरण गर्दै थापाले आफू सुनवल नगरपालिकाको नगरप्रमुख रहँदा निस्वार्थ भावले जनसेवामा समर्पित भएर काम गरेको दाबी गरे ।

तलब तथा सुविधा समेत नलिई नमुना काम गरेको उल्लेख गर्दै उनले स्थानीय तहमा हासिल गरेको अनुभव नै आफ्नो राजनीतिक आधार भएको बताए ।

‘मैले स्थानीय तहमा जनताको पक्षमा काम गरेर देखाइसकेको छु,’ उनले भने,‘अब ती स्थानीय समस्या,आवश्यकता र जनताको आवाज संसदसम्म पुर्‍याउन मलाई अवसर दिनुहोस् ।’ महेशपुर भन्सार विकास पहिलो प्राथमिकता थापाले निर्वाचित भएपश्चात् महेशपुर भन्सारलाई आवश्यक भौतिक पूर्वाधारले सुसज्जित गर्दै मिनी सुख्खा बन्दरगाहका रूपमा विकास गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे । यसले सीमावर्ती व्यापारलाई व्यवस्थित बनाउनुका साथै राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा उल्लेख्य योगदान पुग्ने उनको भनाइ थियो ।

मतदातासँग अपिल अन्त्यमा थापाले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग लोकतन्त्र,विकास र स्थायित्वका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरे । जनताको भरोसा र समर्थन प्राप्त भए आफू संसदमा पुगेर प्रभावकारी ढंगले क्षेत्र र नागरिकका मुद्दा उठाउने उनको प्रतिबद्धता थियो ।

ताजा खबर

सम्बन्धित खबर