२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

जो फुटपाथबाट लखेटिए : काम उही, ढंग फरक  

shivam cement
सपना बोहरा
२०८२ माघ १३ गते ०९:१४
Shares
जो फुटपाथबाट लखेटिए : काम उही, ढंग फरक  

काठमाडौं : गौशालाकी सरस्वती केसीले फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्न थालेको १८ वर्ष बितिसकेको छ । उनले हिजोआज मकै पोल्छिन् । हरियो मकैको सिजन सकिएपछि मौसमी फलफूल र तरकारी बेच्ने गर्छिन् । 

अचेल उनी साँझपख मात्र मकै पोल्न निस्किन्छिन् । बिहानको समयमा तरकारी बेच्न जान्छिन् । ‘पसल नै खोलेर बस्न ठुलो लगानी छैन,’ केसी भन्छिन्, ‘यही  फुटपाथले आत्मनिर्भर बन्न सिकायो । जति हटाउन खोजे पनि छाडेर जान सकिएन ।’ काठमाडौं महानगरले कडाइ गरेपछि उनी पहिलेजस्तो जथाभावी फुटपाथमा व्यवसाय गर्दिनन् । उनले डोकोमा तरकारी राखेर घरघरमा गएर बेच्ने गर्छिन् । ‘फुटपाथमा पो व्यवसाय गर्ने होइन, डोकोमा राखेर व्यवसाय गर्न त मिल्छ,’ उनले भनिन्  । 

फुटपाथमा गाडा राखेर तरकारी बेच्दा महानगरले तीनपटक गाडा लगेको उनी सम्झिन्छिन् । ‘महानगरले गाडा लगिदिन्थ्यो, म टेर्दिनथें, उनले भनिन्, ‘फुटपाथ व्यवस्थित गर्ने कुरा बल्ल बुझें ।’

त्यस्तै, फुटपाथमा चिया पसल सञ्चालन गरेकी बागबजारकी रिमा बस्नेत हिजोआज थर्मसमा चिया बेच्न हिड्छिन् । ‘पहिले फुटपाथमा चिया पसल गर्थें, पछिल्लो समयमा चिया बेच्दै हिँड्छु,’ उनले भनिन् । फुटपाथ खाली भएसँगै सहर सुन्दर भएको उनी बताउँछिन् । ‘महानगरको गाडीले चिया पसल उठाउँदा त पहिला खुबै अन्याय भएको जस्तै लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले राम्रो लागेको छ ।’ पछिल्लो समय फुटपाथलाई व्यवस्थित गर्दै साँझ ६ बजेपछि मात्रै फुटपाथ सञ्चालन गर्न दिइएको छ । 

फुटपाथ हटाइएपछि काठमाडौंका सहर फराकिलो देखिएको छ । सफा पनि राम्रो देखिएको छ । जसले गर्दा सकारात्मक रूपमा काम गरिरहेका छन् । फुटपाथमा व्यापार गर्नेहरूलाई महानगर प्रहरीले अमानवीय ढंगले घरपकड गरेको र निर्मम ढंगले ठेलागाडा खोसेका पुराना दृश्य धेरैले बिर्सिएका छैनन् । तत्कालीन मेयर बालेन शाह र महानगर प्रहरी प्रमुख राजु पाण्डेको निकै चर्को आलोचनासमेत भएको थियो । अहिले बालेन झापा–५ र पाण्डे काठमाडौं–३ बाट उम्मेदवार बनेका छन् । पाण्डेले राजीनामा गरेपछि नगर प्रहरी प्रमुखमा विष्णुप्रसाद जोशी नियुक्त भएका छन् । उनले पनि काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने बताएका छन् । आफू नियुक्त भएपछि सम्मेलन गर्दै उनले महानगरपालिकाले फुटपाथसँगै धुलो, धुवाँ कम गर्न, सार्वजनिक शौचालय, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने बताए । उनले वर्कसपका विषयमा ध्यानकेन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् । 

‘धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ,’ नगर प्रहरी प्रमुख जोशीले भने, ‘फुटपाथ पार्किङमा एकदम फोकस हुनुपर्नेछ ।’ उनले सार्वजनिकस्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताए । 


 

ताजा खबर

सम्बन्धित खबर