
रौतहट : गौर नगरपालिकामा विद्यालयस्तरीय वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ । गौर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको एक दिवसीय कार्यक्रम नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत संचालन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कमरूल हकले गरेका थिए । वित्तीय साक्षरता प्रशिक्षण सहजकर्ता इन्दल कुमार सिंहले विद्यार्थीहरूलाई पैसाको महत्त्व, खर्चको प्राथमिकता निर्धारण, भविष्यका लागि आर्थिक योजना, ऋण व्यवस्थापन, जोखिम व्यवस्थापन र पारिवारिक बजेट निर्माणका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, मनोसामाजिक परामर्शकर्ता अर्चना कुमारी साहले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्शको आवश्यकता र यसको समाजमा प्रभावबारे अन्तरक्रियात्मक कक्षा सञ्चालन गरेकी थिइन् ।
कार्यक्रम हेल्भेटास नेपालको प्राविधिक सहयोग र गौर नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको हो । सामी कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा रहेका परिवार र उनीहरूका बालबालिकालाई आर्थिक रूपमा सचेत र मानसिक रूपमा सबल बनाउनु रहेको छ ।
विद्यालय स्तरबाटै सुरु गरिएको यो अभियानले आगामी पुस्तामा बचत गर्ने बानी र आर्थिक अनुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका र सामी परियोजनाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।