२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

वित्तीय साक्षरताले फेर्दैछ जीवनस्तर

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ १४ गते २१:०८
Shares
वित्तीय साक्षरताले फेर्दैछ जीवनस्तर

रौतहट : सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरणसम्म आइपुग्दा यसको प्रभावकारिता र कार्यशैलीमा उल्लेखनीय सुधार देखिएको छ । 

संघीय सरकारको ५० प्रतिशत अनुदान र स्थानीय तहको ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन हुने यो कार्यक्रम कतिपय स्थानीय तहमा स्रोत अभावका कारण बन्द हुने अवस्थामा पुगेको भएपनि रौतहटको गौर नगरपालिकाले भने यसलाई नमुना कार्यक्रमका रूपमा अघि बढाएको छ ।

मधेश प्रदेशमै पहिलो पटक गौर नगरपालिकाले सामी कार्यक्रमको दीर्घकालीन रणनीतिक योजना कार्यपालिकाबाट पारित गरेको हो । नगर प्रमुख शम्भु साहको विशेष पहलमा कार्यक्रमले वैदेशिक रोजगारीसँग सम्बन्धित बहुआयामिक समस्या समाधानमा सकारात्मक परिणाम दिन थालेको छ ।

नगर प्रमुख साहका अनुसार सामी कार्यक्रम पाँच प्रमुख विषयमा केन्द्रित छ । वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा कानुनी झमेलामा परेकालाई कानुनी सहायता, वैदेशिक रोजगारीमा जानुअघि आवश्यक प्रक्रिया र कागजातबारे जानकारी, विदेश जानुअघि सीपमूलक तालिममा समन्वय, विदेशबाट प्राप्त रेमिट्यान्सको सही उपयोग र व्यवस्थापन, साथै वैदेशिक रोजगारीका कारण परिवारमा पर्ने मानसिक तनाव र सामाजिक समस्याको समाधान कार्यक्रमका मुख्य उद्देश्य हुन् । 

‘हाम्रो प्राथमिकता वैदेशिक रोजगारीका नाममा हुने विचौलियाको ठगी न्यूनीकरण गर्नु र आम नागरिकलाई सचेत बनाउनु हो,’ नगर प्रमुख साहले भने,‘रणनीति पारित भएपछि ठगीका घटनामा कमी आउन थालेको छ ।’

यसैबीच, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास नेपालको प्राविधिक सहयोग र गौर नगरपालिकाको नेतृत्वमा वडा नं.४ टिकुलिया सहनी टोलमा २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ ।

‘वित्तीय साक्षरता सबैको आवश्यकता’ भन्ने नारासहित सञ्चालन भइरहेको कक्षामा वैदेशिक रोजगारीमा गएका वा जाने तयारीमा रहेका परिवारका ३२ जना महिला सदस्य सहभागी छन् ।

वित्तीय साक्षरता सहजकर्ता इन्दल कुमार सिंहका अनुसार यो कक्षा केवल बचत गर्न सिकाउने कार्यक्रममा सीमित छैन । ‘यसले सहभागीहरूलाई वित्तीय अनुशासन सिकाउँछ । कुन खर्च आवश्यकता हो र कुन चाहना मात्र हो भन्ने छुट्याउन सिकेपछि अनावश्यक खर्च स्वतः घट्छ,’उनले भने । 

कक्षामा भविष्यका लागि योजना बनाउने, आम्दानी र खर्चको लेखाजोखा गर्ने, ऋणको सही उपयोग र ब्याजको जोखिम बुझ्ने तथा आपतकालीन अवस्थाका लागि पूर्वतयारी गर्ने विषयमा नियमित छलफल हुने गरेको छ । कक्षामा सहभागी महिलाहरू अहिले निकै उत्साहित देखिएका छन् र अनुगमनका क्रममा सोधिएका वित्तीय प्रश्नहरूको सन्तोषजनक जवाफ दिने गरेका छन् । 

नगर प्रमुख स्वयं समय–समयमा कक्षामा पुगेर सहभागीहरूको सिकाइ अवस्थाबारे जानकारी लिने गरेका छन् । गौर नगरपालिकाले सामी कार्यक्रमलाई केवल सरकारी कार्यक्रमका रूपमा होइन, स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित गरेको देखिन्छ ।

ताजा खबर

सम्बन्धित खबर