
काठमाडौं : काठमाडौं महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरमै आधारभूत स्वास्थ्य सेवा सुरु गरेको छ । साथै, ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षणको पनि थालनी गरिएको छ ।
कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार घरघरै स्वास्थ्य सेवाको उद्घाटन गरेकी हुन् । उनी स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिक भेट्न हिँडेकी छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले राजीनामा दिएपछि कार्यवाहक मेयर बनेकी उपमेयर डंगोलले सक्रियता बढाएकी हुन् ।
७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका स्वास्थ्य समस्याबारे सर्वेक्षण पनि सँगसँगै सुरु गरिएको महानगरले जनाएको छ । अहिले अधिकांश घरमा सुगर, प्रेसर, कोलेस्ट्रोलजस्ता समस्या सामान्यजस्तै भएको छ । समयसमयमा स्वास्थ्य अवस्था जाँच गराउनुपर्ने र अशक्त ज्येष्ठ नागरिकहरूलाई फलोअपमा लैजान पनि समस्या हुने देखिएपछि महानगरले घरमै सेवा सुरु गरेको हो । घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमसहित स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र स्वास्थ्य सर्वेक्षणको फारमसहित पठाएको छ ।
‘जसको केही छैन, आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन तर सम्पत्ति छ । सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी गरेका छौं,’ कार्यवहाक मेयर डंगोलले भनिन् । शारीरिक अशक्तता र दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकलाई यो सेवाले राहत मिल्ने अपेक्षा गरिएको उनले बताइन् ।
सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका लागि प्रेरित गर्दै डंगोलले भनिन्, ‘यो मानवीय सेवाको काम पनि हो । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् । पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।’ विदेशमा भएका सन्तानलाई जानकारी गराएर मात्रै स्वास्थ्य जीवनका लागि सहयोग गर्न टेलि मेडिसिन प्रणाली बनाउन लागिएको उनले बताइन् ।
यसअघि सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीहरूलाई पाँचदिने अभिमुखीकरण प्रदान गरिएको थियो । यस्तै, स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिएको छ । स्वास्थ्य जाँच गर्न प्रदान गरिएका सामग्रीहरूमा ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर पल्स अक्सिमिटर, स्वास्थ्य अभिलेख फाराम, भेटको लगबुक, तथ्यांक भर्ने ट्याब्लेट छन् । यस्तै, स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक ब्यान्डेज, ट्रयाङगुलर ब्यान्डेज क्रेप ब्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ सेट दिइएको छ । पारासिटामोल आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि दिइएको छ ।
यो अभियानमा घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई औषधि व्यवस्थापन र पोषण परामर्श दिइने महानगरले जनाएको छ । मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ भने दीर्घ रोग नियन्त्रण गर्ने प्रयास गरेको छ । कार्यक्रमका उद्देश्यबारे स्वास्थ्य विभाग प्रमुख दीपक केसीले अब आकस्मिक अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिने बताएका थिए । व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्शलगायत संकलन गरिएको तथ्यांकका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने उनले बताए ।