
काठमाडौंः इरानका शिर्षजनरलले अमेरिकाले गर्ने सानो गल्तीको प्रतिक्रियाले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएका छन् । आधिकारिक समाचार एजेन्सी इरनाकाअनुसार इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दोलरहीम मुसावीले एक सैन्य इकाइको भ्रमणका क्रममा पश्चिम एशियामा भइरहेको अमेरिकी सैन्य तैनाथीको जवाफमा सो टिप्पणी गरे ।
अमेरिकी नौसैनिक नाकाबन्दीको सम्भावनाबारे बोल्दै उनले इरानलाई नाकाबन्दी गर्न नसकिने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानवाहक युद्धपोत अब्राहम लिंकनको नेतृत्वमा विशाल सैन्य समूह इरानतर्फ बढिरहेको र तेहरानलाई सम्झौताका लागि समय घर्किदै गएको चेतावनी दिए ।
इरानी सर्वोच्च नेता अली खामेनीले पनि अमेरिकाले युद्ध सुरु गरेमा त्यो क्षेत्रीय स्तरमा फैलिने बताए । उनका वरिष्ठ सल्लाहकार अली शामखानीले जुनसुकै तहको अमेरिकी सैन्य कारबाहीलाई युद्धको घोषणा मानिने र त्यसको तत्काल तथा अभूतपूर्व जवाफ दिइने स्पष्ट पारे ।