२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पश्चिम नवलपरासीमा निर्वाचन प्रहरी तालिम सुरु

shivam cement
विनोद निगम
२०८२ माघ २० गते १३:४२
Shares
पश्चिम नवलपरासीमा निर्वाचन प्रहरी तालिम सुरु

पश्चिम नवलपरासी : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पश्चिम नवलपरासीमा निर्वाचन सुरक्षाको तयारी तीव्र पारिएको छ । सोही क्रममा आइतबारदेखि इलाका प्रहरी कार्यालय महेशपुरमा निर्वाचन प्रहरी तालिम सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरदत्त पन्तका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लाभरका विभिन्न इलाका प्रहरी कार्यालयहरूमा निर्वाचन प्रहरी परिचालन गरी तालिम सञ्चालन गरिएको हो ।

उनका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटमा २४५ जना, सुनवल इलाकामा २४५ जना, इलाका प्रहरी कार्यालय बेलाटारीमा २५५ जना तथा इलाका प्रहरी कार्यालय महेशपुरमा प्रहरी निरीक्षक सुबराज बमको कमान्डमा सञ्चालन भइरहेको तालिममा २५० जना निर्वाचन प्रहरी सहभागी छन् । तीमध्ये ४६ जना महिला र २०४ जना पुरुष रहेका छन् । 

जिल्लामा हाल ५०९ जना म्यादी प्रहरी तालिमरत रहेको र खटाइएका म्यादी प्रहरीको कुल संख्या १ हजार ५०४ पुगेको डिएसपी पन्तले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले आवश्यक संख्यामा सुरक्षा जनशक्ति परिचालन गरिएको जनाएको छ ।

पश्चिम नवलपरासीमा १२२ मतदान स्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । ती सबै स्थानमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षा व्यवस्थाअन्तर्गत पाँच सयभन्दा बढी नेपाल प्रहरी, १ हजार ५०४ म्यादी प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना परिचालन गरिनेछ । निर्वाचन अवधिभर बहुतह सुरक्षा रणनीति लागू गरिने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने तयारी सुरक्षा निकायले गरेको जनाएको छ ।

तालिमका क्रममा मतदान स्थलको सुरक्षा, मतपेटिका ओसारपसार, मतदाताको सुरक्षा तथा आकस्मिक परिस्थितिको व्यवस्थापनसम्बन्धी व्यवहारिक अभ्यास गराइने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर