
काठमाडौँ : लामो समयदेखि सार्वजनिक अभिव्यक्ति र सम्भावित सुरक्षा तनावका कारण चिसिएको अमेरिका-कोलम्बिया सम्बन्ध सुधारतर्फ उन्मुख भएको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष संवाद सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
करिब दुई घण्टा चलेको छलफलले दुवै देशबीच उत्पन्न अविश्वास घटाउँदै सहकार्य विस्तारको सम्भावना देखाएको कूटनीतिक स्रोतहरूले जनाएका छन् । भेटका क्रममा ट्रम्पले पेट्रोप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए ।
यसअघि नै पेट्रोले अमेरिकाबाट कोलम्बिया पठाइने आप्रवासनसम्बन्धी उडानहरू स्वीकार गर्ने तथा एक उच्चस्तरीय लागुऔषध तस्करलाई अमेरिकी निकायसमक्ष सुपुर्दगी गर्ने निर्णयमार्फत सम्बन्ध सुधारका लागि पहल गरेका थिए ।
भेटको अन्त्यमा ट्रम्पले पेट्रोलाई आफ्नो पुस्तक द आर्ट अफ द डिल र चिनारीस्वरूप प्रयोग हुँदै आएको रातो टोपी उपहार दिएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै पेट्रोले यसलाई दुई देशबीच सहकार्यको नयाँ समझदारीको आधार बन्न सक्ने भन्दै हल्का टिप्पणी गरेका थिए ।