२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रौतहटमा एचपिभी खोप अभियान सञ्चालन गरिँदै

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ २३ गते १५:३३
Shares
रौतहटमा एचपिभी खोप अभियान सञ्चालन गरिँदै

रौतहट : महिलामा हुने क्यान्सरमध्ये प्रमुख मानिने पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि रौतहट जिल्लामा ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन शुक्रबार जिल्लास्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्या राय यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा अभियानको तयारी, व्यवस्थापन र कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय रौतहटको संयुक्त आयोजनामा अभियान सञ्चालन हुन लागेको हो ।

बैठकमा जिल्लाका सबै स्थानीय तहमा खोप केन्द्र व्यवस्थापन, आवश्यक जनशक्ति परिचालन तथा लक्षित समूहका किशोरीहरूको पहिचान गर्ने विषयमा सरोकारवालाहरूले आ–आफ्नो प्रतिबद्धता जनाएका छन् ।

अभियान अन्तर्गत जिल्लाभरका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीहरूलाई प्राथमिकतामा राखेर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार सानै उमेरमा एचपिभी खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम ९० प्रतिशतभन्दा बढीले घट्ने गर्छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुसालले एचपिभी खोप पूर्ण रूपमा सुरक्षित र निःशुल्क रहेको उल्लेख गर्दै समाजमा फैलन सक्ने भ्रम चिर्न र सही सूचना प्रवाह गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख यादवले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि यो अभियान ‘कोसेढुंगा’ सावित हुने विश्वास व्यक्त गर्दै सबै अभिभावकलाई आफ्ना छोरीहरूलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

“खोपले जीवन रक्षा गर्छ, पूर्ण खोप सुरक्षित भविष्य” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको अभियानमा सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, स्थानीय तहका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।

स्वास्थ्य कार्यालय रौतहटका अनुसार जिल्लाका सबै स्थानीय तहमा चरणबद्ध रूपमा विद्यालय तथा नजिकका स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइनेछ । जनस्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिएको यस अभियानले जिल्लाका हजारौँ किशोरीलाई क्यान्सरको जोखिमबाट जोगाउने लक्ष्य लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर