२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

बालेनले छाडेपछि सक्रिय सुनिता

shivam cement
सपना बोहरा
२०८२ माघ २४ गते ०६:३५
Shares
बालेनले छाडेपछि सक्रिय सुनिता

काठमाडौं : मेयर बालेन्द्र शाह (बालेन)को राजीनामापछि काठमाडौं महानगरमा कार्यवाहक मेयर सुनिता डंगोलको सक्रियता एकाएक बढेको छ । प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारहरूको घरदैलो र डंगोलको सक्रियता एकैसाथ देखिँदा आशंका पनि उब्जाएको छ । नेकपा (एमाले)को ११औं महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित डंगोल महानगरका कामसँगै मतदातामाझ पुगिरहेक छिन् । 

फागुन २१ को चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको छ । काठमाडौं महानगरपालिकाले यहीबेला धमाधम कार्यक्रम लिएर टोलबस्ती छिरेको छ । कार्यवाहक मेयर डंगोलले माघ १८ गते ज्येष्ठ नागरिकका लागि घरघरै आधारभूत स्वास्थ्य सेवाको सुरुवात गरिन् । ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत स्वास्थ्य टोली लिएर उनी स्वास्थ्य अवस्था सर्वेक्षण गर्न पुगेकी हुन् । ज्येष्ठ नागरिकलाई घरमै सेवा दिन नर्सिङ कर्मचारी खटाइएका छन् । उनीहरूलाई तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण विधिसहित घरघरै पठाइएको छ ।  

त्यस्तै, तीनकुने–माइतीघर खण्डमा साइकल लेन विस्तारले पनि यहीबेला तीव्रता पाएको छ । व्यस्त सडक रुटमा साइकल यात्रीलाई सुरक्षित र सहज आवागमनका लागि महानगरले साइकल लेन विस्तारलाई जोड दिएको हो ।  

डंगोलले महानगरभित्रका सम्पूर्ण सहकारी संस्थाहरूको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन कार्य औपचारिक रूपमा सुरु गरेकी छन् । उनले महानगरका सहकारी विभागको नियमन क्षेत्रभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन कार्य औपचारिक रूपमा सुरु गरेकी छन् । 

निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात् महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घरघरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेकोबारे निर्वाचन आयोगले महानगरलाई प्रस्ट पार्न भन्दै पत्रसमेत लेखेको छ । महानगरले चालु वर्षको कार्यक्रम र बजेटकै नियमित कार्यक्रम सञ्चालन गरेको भन्दै आचारसंहिता लागू नहुने जवाफ दिइसकेको छ । 

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

डंगोल एमालेकी उदीयमान युवा नेतृ मानिन्छिन् । महानगरमा मेयरका लागि उपनिर्वाचन भए उनी नै उम्मेदवार हुने पक्का छन् । कार्यकालपछि पनि पार्टी र संसदीय राजनीतिमा उनी आउने सम्भावना उस्तै छ । जेनजी आन्दोलनपछि तत्कालीन सत्तासीन दल नेपाली कांग्रेस र नेकपा एमालेप्रति नयाँ पुस्ताको आकर्षण कम भइरहेका बेला युवा नेता डंगोलमार्फत एमालेले जनमत बढाउने रणनीति बनाएको चर्चासमेत हुने गरेको छ । उनको पछिल्लो सक्रियतालाई त्यसैसँग जोडेर हेरिएको छ । 

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपाने भने कार्यवाहक मेयरको सक्रियता स्वाभाविक र नियमित रहेको भन्दै बचाउ गर्छन् । अहिले महानगरको वार्षिक नीति कार्यक्रमअन्तर्गत काम भइरहेको उनको भनाइ छ । ‘महानगरको योजनाअनुसार कार्यक्रम सञ्चालन हुने हो, त्यसबाहेक अन्य कार्यक्रम गतिविधि हुन थाल्यो भने महानगरका ३ हजार कर्मचारी छन् । चुप लागेर त बस्दैनन् होला,’ उनले भने, ‘एक जना बाहिर जानु र अर्को आउनुले महानगरको काम कारबाहीमा केही फरक पर्दैन ।’ महानगरका हरेक कार्यक्रम नगरसभाबाट पास हुन्छ र त्यहीअनुसार गतिविधि भइरहेको उनले बताए । 

ताजा खबर

सम्बन्धित खबर