
साउदी अरब : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास संगठनअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरेबियाको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।
शुक्रबार साउदीको राजधानी रियादमा आयोजित अधिवेशनले भूपाल भण्डारीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । "नारामा मात्र होइन, व्यवहारमा परिवर्तन" भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै सम्पन्न यस अधिवेशनले प्रवासमा रहेका नेपालीहरूको हक, हित र अधिकारको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ ।
नवनिर्वाचित कार्यसमितिको उप-सभापतिमा पद्म बहादुर थापा क्षेत्री, सचिवमा नर बहादुर खतिवडा, सह-सचिवमा नेत्र न्यौपाने र कोषाध्यक्षमा नारायण प्रसाद भुसाल चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा रविन अधिकारी, युवराज पाठक, अकल प्रधान (जुवेल), मिन बहादुर सुनार, राजेश परियार, सुभेष शर्म पण्डित, लक्ष्मण पुरी, तीर्थ गौतम, मनोज लामिछाने थापा मगर र विटेन्द्र चौधरी निर्वाचित भएका छन् । नयाँ नेतृत्वले आगामी कार्यकाललाई औपचारिकतामा मात्र सीमित नराखी स्पष्ट नतिजा र व्यवहारिक परिवर्तनको परीक्षणका रूपमा अगाडि बढाउने संकल्प गरेको छ ।

अधिवेशनमा सहभागी वक्ताहरूले पार्टीको विधि-विधानलाई अक्षरशः पालना गर्दै प्रवासमा पसिना बगाइरहेका श्रमिक नेपालीहरूको पक्षमा निडर, स्पष्ट र प्रभावकारी रूपमा उभिनुपर्नेमा जोड दिएका थिए । घोषणापत्र र वाचा-पत्रलाई व्यवहारमा उतार्दै इमानदार, पारदर्शी र जवाफदेही नेतृत्व प्रदान गर्ने विश्वास दिलाइएको छ । नवनिर्वाचित समितिलाई एक जिम्मेवार, सक्रिय र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशनले साउदीमा संगठनलाई थप सशक्त बनाउने मार्गचित्र समेत तय गरेको छ ।
नेपाली दूतावास रियादका श्रम सहचरी कबिराज उप्रेतीको प्रमुख आतिथ्वमा आयोजित कार्यक्रमा उल्लेखनीय रास्वपा समर्थित नेपालीहरुको उपस्थित रहेको थियो ।
