२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुरेशको ‘इँटा भट्टा’ बार्सिलोना फिल्म फेस्टिभलमा छनोट

ADV
पिन्टु यादव
२०८१ साउन १६ गते १९:१६
सुरेशको ‘इँटा भट्टा’ बार्सिलोना फिल्म फेस्टिभलमा छनोट

सप्तरी : मानवबस्ती नजिकै तराईमा सञ्चालन गरिएका अव्यवस्थित इँटा भट्टाहरु सयौंको संख्यामा भेटिन्छन् । जसले त्यहाँका स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । कच्चा इँटालाई भट्टामा पोलेर उत्पादन गर्ने परम्परागत प्रविधिले वरिपरिका गाउँहरु धुवाँ र धुलोमय हुन्छन् । जसलाई राज्यलेसमेत गम्भीरतापूर्वक लिएको छैन ।

अव्यवस्थित इँटा भट्टाका कारण मानव जनजीवनमा पार्ने असरबारे तीनै तहका सरकार गम्भीर नभएको अवस्थामा सप्तरीका एक युवकले यसबारे बहस सिर्जना गर्ने प्रयास गरेका छन् । राजविराज नगरपालिका–४ का सुरेश मुखियाको उक्त प्रयासले अन्तर्राष्ट्रियस्तरमै स्थान पाइरहेको छ । सुरेशले इँटा भट्टाबाट त्यस वरिपरि रहेका मानवबस्तीमा पारिरहेको समस्या र प्रभावबारे परिकल्पना गरेर सर्ट डकुमेन्ट्री बनाएका छन् ।

वातावरणीय प्रभाव र वरपरका जनजीवनहरुको दैनिक पीडामा आधारित रहेर उनले निर्माण गरेको सर्ट डकुमेन्ट्री ‘इँटा भट्टा, द किलिङ किल्न’ बार्सिलोना फिल्म फेस्टिभलको ३१औं संस्करणमा छनोट भएको छ ।

सप्तरीमा निर्माण गरिएको ‘इँटा भट्टा’ यही नोभेम्बर ९ देखि २३ तारिकसम्म स्पेनको बार्सिलोनामा हुने फिल्म फेस्टिभलमा प्रदर्शन हुन लागेको हो । मुखियाद्वारा लिखित÷निर्मित डकुमेन्ट्री सो फेस्टिभलको ‘मोनार्का सेक्सन डकुमेन्ट्री’ खण्डको प्रतिस्पर्धामा छनोट भएको हो ।

मुखियाका अनुसार सामान्यतया धुवाँ र धुलोको सानो स्ट्रोकले पनि व्यक्तिलाई असहज बनाइरहेको हुन्छ । इँटा भट्टा वरिपरि सालौंदेखि धेरै गाउँहरु स्थापित रहेको पाइन्छ । त्यहाँका स्थानीय हानिकारक धुवाँ र धुलोले भरिएको वातावरणमा सास लिने गर्छन् । तिनीहरुको पीडामा बोल्न र सोबारे बहस सिर्जना गर्न आफूले ‘इँटा भट्टा’को निर्माण गरेको मुखिया बताउँछन् । 

मुखियाको उक्त डकुमेन्ट्री पहिलो पटक वैशाख ६ देखि ८ सम्म रामेछापमा आयोजित नेपाल ग्रामीण चलचित्र महोत्सव २०८१ मा आधिकारिकरुपमा छनोट भएर प्रिमियर भएको थियो । त्यसपछि जुलाई २ देखि ३ सम्म कोशी प्रदेशको विराटनगरमा आयोजित क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४ मा पनि छनोट भएर प्रदर्शन भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise