२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

‘परान’ आजदेखि प्रदर्शनमा

Nada
२०८२ कार्तिक १४ गते १३:२९
Shares
‘परान’ आजदेखि प्रदर्शनमा

काठमाडौंः नेपाली चलचित्र ‘परान’ आजदेखि प्रदर्शन हुने भएको छ । अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ । सुख खोज्ने बहानामा खुसी छोडिरहेकाको कथाले दर्शकलाई भावनात्मक रुपमा जोड्ने निर्देशक दीपकप्रसाद आचार्यले बताए । 

ncell

उनले भने, ‘चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाएको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने चलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु ।’ 

निर्देशक आचार्यले चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) उपस्थित भएर चलचित्र हेरेका चलचित्रकर्मीले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको र दर्शकबाट पनि उस्तै प्रतिक्रिया आउने अपेक्षा रहेको बताए । 

‘चलचित्रमा बा र छोराबीचको सम्बन्धमार्फत देखाइएको कथा आफ्नै घर, गाउँ वा समाजमा देखेजस्तो लाग्छ । दर्शकले नै यो चलचित्र हेर्न अन्यलाई सिफारिस गर्नुहुन्छ भन्नेमा आशावादी छु’, निर्देशक आचार्यले भने ।

अभिनेता नीर शाहले पनि चलचित्रमा अभिनय गर्नुको कारण अहिलेको सामाजिक यथार्थको चित्रण रहेको बताए । उनले भने, ‘मैले यो चलचित्रमा निर्वाह गरेको भूमिका कमै प्रस्ताव आएका छन् । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको थिएँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।’ 

चलचित्रमा अभिनेता शाहसँगै अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् ।     अभिनेत्री अधिकारीले उक्त चलचित्रमा बुहारीको भूमिका निर्वाह गरेकी छन् । 

‘एउटा परिवारमा सबैले राम्रो गर्न खोज्दाखोज्दै पनि आउने घटनाक्रम चलचित्रको विषय हो । यो चलचित्रमा देखाए जस्तो परिवार सबैको चाहना हुन्छ, मैले यसमा माइली बुहारीको भूमिका निर्वाह गरेकी छु’, उनले भनिन् ।

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना गरेकाअ छन् ।  

ताजा खबर

सम्बन्धित खबर