
काठमाडौंः नेपाली चलचित्र होस्टेल–३ ले भारतमा ५१ दिन पूरा गरेको छ । नेपालमा सुरु भएको ‘होस्टेल’ को तेस्रो शृङ्खलाले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबीच पनि लोकप्रियता विस्तार गर्न सफल भएको हो ।
गत भदौ २० गतेदेखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिङ्क मलमा निरन्तर प्रदर्शन भइरहेको उक्त चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले जानकारी दिए ।
भारतमा ‘होस्टेल–३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् । चलचित्र सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दाबढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।
चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मले सफलता प्राप्त गरेकामा खुसी व्यक्त गरे । उनले भने, ‘सर्वप्रथम, यति ठूलो शृङ्खलालाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्स्लाई धेरै धन्यवाद दिन चाहन्छु । निर्माण, वितरण र प्रचारप्रसारमा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।’
‘होस्टेल–३’ ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ । चलचित्रमा पारसबम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषलगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सहनिर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिसराज क्षेत्री रहेका छन् ।