
रौतहट : रौतहटको सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालयलाई सुटुक्क सिमरा सार्न खोजिएको भन्दै रौतहट उद्योग वाणिज्य संघले कडा आपत्ति जनाउँदै अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।
संघका अनुसार पूर्वसहमति विपरीत प्रशासनले कुनै सूचना नदिई कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात ट्रकमा लोड गरी सिमरा लैजान खोजेपछि उद्योगी–व्यवसायी आन्दोलित भएका हुन् । ट्रकमा लोड गरिएका सामग्री बीचमै रोकेर व्यवसायीहरूले विरोध जनाएका छन् ।
गत २०८२ पुस २८ गते प्रमुख जिल्ला अधिकारीको रोहवरमा संघ, आन्तरिक राजस्व कार्यालय सिमरा, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिबीच भएको सहमतिअनुसार कर कार्यालय हाल सञ्चालनमा रहेको भवनबाटै यथावत राख्ने निर्णय भएको थियो । तर शनिबार फागुन १ गते बिना कुनै लिखित वा मौखिक जानकारी कार्यालय सार्न खोजिएको भन्दै संघले यसलाई ‘प्रशासनिक धोका’ को संज्ञा दिएको छ ।
संघका महासचिव सन्तोष केशरीले व्यापारीहरूको भावनामाथि गम्भीर चोट पुगेको बताएका छन् । प्रथम उपाध्यक्ष विपेन्द्र कुमार झाका अनुसार फागुन ३ गतेसम्म सरकार वा स्थानीय प्रशासनबाट कार्यालय नसार्ने स्पष्ट लिखित प्रतिबद्धता नआए आन्दोलन थप सशक्त बनाइनेछ ।
संघले फागुन १ गतेदेखि गौरका सम्पूर्ण उद्योग, कलकारखाना तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द रहने घोषणा गरेको छ । माग पूरा नभए फागुन ४ गतेदेखि रौतहटका सम्पूर्ण यातायात सेवा तथा सीमा नाका ठप्प पार्ने चेतावनीसमेत दिइएको छ ।
स्थानीय व्यापारीहरूका अनुसार सदरमुकामबाट सेवा कार्यालय हटाइए हजारौं करदातालाई सामान्य प्रशासनिक कामका लागि पनि बाराको सिमरा धाउनुपर्ने बाध्यता सिर्जना हुनेछ, जसले समय र खर्च दुवै बढाउनेछ ।
हाल गौरको अवस्था तनावपूर्ण रहेको छ । व्यवसायीहरू कर कार्यालय अगाडि धर्नामा बसेका छन् र ट्रकमा लोड गरिएका सामग्री पुनः कार्यालयमै नझारेसम्म तथा लिखित निर्णय नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
संघद्वारा जारी विज्ञप्तिमा महासचिव सन्तोष केशरी र प्रथम उपाध्यक्ष विपेन्द्र कुमार झाको हस्ताक्षर रहेको छ ।