२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

प्रशासन कार्यालयमा पश्चिम नवलपरासीमा आचारसंहिता उल्लंघनको उजुरी

Nada
विनोद निगम
२०८२ फागुन २ गते २२:१३
Shares
प्रशासन कार्यालयमा पश्चिम नवलपरासीमा आचारसंहिता उल्लंघनको उजुरी

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष,स्वच्छ,पारदर्शी,मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन आयोगले माघ १४ गतेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको छ ।

ncell

तर,जिल्ला अन्तर्गत निर्वाचन क्षेत्र नं.१ र २ मा केही उम्मेदवार तथा राजनीतिक दलको प्रचार–प्रसार कार्यक्रममा स्थानीय तहका पदाधिकारीहरू संलग्न भएको भन्दै गुनासो तथा उजुरी परेपछि निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ । आचारसंहिताले सरकारी स्रोत–साधनको प्रयोग,पदको दुरुपयोग तथा प्रभाव प्रयोग गरेर प्रचार–प्रसारमा संलग्न हुन निषेध गरेको व्यवस्था स्पष्ट रूपमा उल्लेख गरेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको समयमा स्थानीय तहका जनप्रतिनिधि वा पदाधिकारीहरू कुनै विशेष उम्मेदवारको प्रचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुनु निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि प्रतिकूल प्रभाव पार्न सक्छ । यसले मतदातामा दबाब वा प्रभाव सिर्जना गर्ने जोखिमसमेत रहने उनीहरूको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त विषयलाई गम्भीर रूपमा लिँदै निर्वाचन आचारसंहिता,२०८२ को परिच्छेद–३ बमोजिम आचारसंहिता पूर्ण रूपमा पालना गर्न र गराउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। प्रशासनले आचारसंहिता उल्लंघनका घटनामाथि निगरानी बढाइएकोसमेत जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीले आचारसंहिता उल्लंघन कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पार्दै सबै राजनीतिक दल, उम्मेदवार तथा जनप्रतिनिधिलाई कानुनको कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । 

निर्वाचनको निष्पक्षता र विश्वसनीयता जोगाउन राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि तथा प्रशासन सबैको साझा जिम्मेवारी रहने विश्लेषकहरूको भनाइ छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनले मात्र स्वच्छ र विश्वासिलो निर्वाचन सुनिश्चित हुने उनीहरू बताउँछन् । 

सम्बन्धित खबर