
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट क्षेत्रमा चुनावी माहोल तातिरहेका बेला उम्मेदवारमाथि नै कुटपिट भएको घटनाले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार राजु हरिजनमाथि प्रचार–प्रसारका क्रममा अभद्र व्यवहार तथा हातपात गरिएको हो ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ५ बजे बर्दघाट नगरपालिका–१२ जमुनिया क्षेत्रमा घरदैलो अभियान चलाइरहेका बेला ३/४ जनाको अपरिचित समूहले अचानक आक्रमण गरेको थियो । आक्रमणपछि संलग्न व्यक्तिहरू फरार भएका थिए ।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाट र मातहतका युनिटबाट प्रहरी टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा बर्दघाट–१३ धनेवा निवासी ३१ वर्षीय अजय गौतमलाई बुधबार बिहान करिब ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बीरदत्त पन्तका अनुसार पक्राउ परेका गौतममाथि अभद्र व्यवहार तथा कुटपिटसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । अन्य संलग्न व्यक्तिहरूको पहिचान गरी खोजी कार्य तीव्र पारिएको उनले जानकारी दिए ।
घटनापछि उक्त क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनाव नजिकिँदै जाँदा सम्भावित अप्रिय घटना रोक्न प्रहरी सतर्क रहेको जनाइएको छ ।
स्थानीय राजनीतिक दलका नेताहरूले घटनाको भत्र्सना गर्दै निष्पक्ष र शान्तिपूर्ण चुनावी वातावरण सुनिश्चित गर्न प्रशासनसँग माग गरेका छन् । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा सुरक्षा चुनौती पनि बढ्दै गएको देखिएको छ ।