२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गरुडामा म्यादी प्रहरीको प्रदर्शन

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन ८ गते २०:५३
Shares
गरुडामा म्यादी प्रहरीको प्रदर्शन

रौतहट : गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि शुक्रबार निर्वाचन सुरक्षामा खटिएका म्यादी (निर्वाचन) प्रहरीहरूले आकस्मिक विरोध प्रदर्शन गरेका छन् ।  कार्यालयले बिना स्पष्ट कारण र पूर्वसूचना प्रत्येक प्रहरीसँग ६ हजार १ सय ७० रुपैयाँ बराबरको सादा चेक मागेको आरोप लगाउँदै उनीहरूले कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला रौतहट जिल्लामा देखिएको यो विवादले सुरक्षा व्यवस्थापनको पारदर्शिता र आन्तरिक समन्वयमाथि प्रश्न उठाएको छ ।

प्रदर्शनमा सहभागी म्यादी प्रहरीहरूका अनुसार कुनै आधिकारिक निर्णय, लिखित सूचना वा स्पष्टीकरणबिना रकम बराबरको सादा चेकमा हस्ताक्षर गराएर लिइएको छ । ‘हामीलाई यो रकम किन काटिएको हो वा कि’ चेक मागिएको हो भन्नेबारे केही पनि जानकारी दिइएन,’एक प्रदर्शनकारीले भने, ‘न निर्णयको प्रतिलिपि देखाइयो, न आधिकारिक सूचना नै दिइयो । प्रक्रिया मिचेर सादा चेक मागिएपछि हामी विरोधमा उत्रिन बाध्य भयौं ।’

घटनापछि इलाका प्रहरी कार्यालय अगाडिको अवस्था केही समय तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी निरीक्षक रोहित शर्मा प्रदर्शनस्थलमा पुगेका थिए । उनले म्यादी प्रहरीहरूलाई संयमित रहन आग्रह गर्दै विषयलाई आन्तरिक रूपमा छानबिन गरी समाधान गरिने आश्वासन दिएका थिए । त्यसपछि प्रदर्शन केही शान्त बनेको थियो । 

स्रोतका अनुसार उक्त रकम रासन वा अन्य व्यवस्थापन खर्चसँग सम्बन्धित हुन सक्ने संकेत गरिएको छ। तर म्यादी प्रहरीहरूले भने स्पष्ट निर्णय, लिखित जानकारी र पारदर्शी प्रक्रिया माग गरिरहेका छन् । 

निर्वाचन जस्तो संवेदनशील समयमा अहोरात्र खटिने सुरक्षाकर्मीबीच यस्तो असमझदारी देखिनु चिन्ताजनक भएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । पारिश्रमिक र सेवा–सुविधामा स्पष्टता नहुँदा तथा प्रक्रियागत पारदर्शिता नअपनाउँदा सुरक्षा संयन्त्रभित्र अविश्वास बढ्न सक्ने उनीहरूको टिप्पणी छ ।

जिल्ला प्रहरी कार्यालयले औपचारिक धारणा सार्वजनिक नगरे पनि निर्वाचनको पूर्वसन्ध्यामा देखिएको यो विवादले सुरक्षा तयारीमा चुनौती थप्न सक्ने देखिएको छ ।

सम्बन्धित खबर