२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चुनावले सुनसान सिंहदरबार

shivam cement
सपना बोहरा
२०८२ फागुन ९ गते ०६:२५
Shares
चुनावले सुनसान सिंहदरबार

काठमाडौं : सधै चहलपहल हुने सिहदरबारको दक्षिणी गेट शुक्रबार भने सुनसान थियो । केही साताअघिसम्म गाउँ–सहरका योजनाका फाइल लिएर सयौँ मानिसहरु यताउता कुँदिरहेका हुन्थे । मन्त्री र सचिव भेट्न पालो कुरिरहने त्यो भिड अहिले सिंहदरबारमा देखिन्न । सोधपुछ कक्षका कर्मचारी सुनाउँछन्, ‘सिंहदरबारलाई पनि चुनाव लागेको छ । त्यसैले सुनसान छ ।’ 

त्यसो त सिंहदरबारमा अझै भदौ २४ गतेको विध्वंसको गन्ध छ । जलेका भवन कालै छन् । प्रधानमन्त्री कार्यालयलाई हरियो कपडाले छोपिएको छ । खरानीको थुप्रै र डढेका भवनको दृश्यले बोलिरहेको छ– सिंहदरबार घाइते छ । मन्त्रालयहरु अस्तव्यस्त छन् । केही भवन र कार्यालयमा रंग पोतिएबाहेक देखिने ठूलो सुधार छैन । केही कार्यालय कक्ष र भवनमा मर्मतको काम जारी छ भने धेरै त पुनःनिर्माण नै गर्नुपर्ने खालको छ । 

भदौं २३ को जेनजी प्रदर्शनका क्रममा संसद् भवन अगाडि ठूलो मानविय क्षति पुगेपछि २३ भदौंमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीले ठूलो भौतिक क्षति पुग्नेगरी आगजनी र तोडफोड गरिएको थियो । त्यस क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्वपूर्ण भवन र संरचनामा ठूलो क्षति पुगेको थियो । ‘कार्यालयमा आउँदा नै मन भक्कानिन्छ । कति हराभरा थियो’ एक कर्मचारी सुनाउँछन्, ‘सिंहदरबार जलाएर ठिक गरेनन् । अब उस्तै कहाँबाट हुनु ?’ सिंहदरबारको भिडभाड जेनजी आन्दोलनपछि नै कम भएको हो । जानै पर्नेबाहेक अरुले सिंहदरबार छिर्न छाडेका छन् । 

२०७२ को भुकम्पपछि झण्डै एक दशक लगाएर पुनःनिर्माण गरिएको सिंहदरबार भवन संरचना र जोगाइएका ऐतिहासिक दस्तावेजहरु खरानी पारियो । अहिले जलेका संरचना र खरानी  सफा गरिएको छ । योजनाका काम लिएर सम्बन्धित कार्यालय जाने गेट पनि उस्तै छैन । कसैलाई जान पर्‍यो भने पनि कडाईका साथ जाँच हुन्छ । फागुन २१ को निर्वाचनलाई दृष्टिगत गर्र्दै सुरक्षा संवेदनशिलता अपनाइएको गृहमन्त्रालयले जनाएको छ । 

सिंहदरबारमा काम लिएर जानेमा धेरै सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता धेरै हुन्थे । ती सबै अहिले चुनावमा व्यस्त छन् । त्यसैले नियमित प्रशासनिक कामबाहेक अरु भिडभाड देखिँदैन् । सिंहदरबारभित्रका दलहरुका संसदीय कार्यालयका चमेनागृहहरुमा सधै भिडभाड हुन्थ्यो । ती सबै अहिले सुनसान छन् । 

सिहं दरवारको दक्षिण गेटमा भिडभाड हुने सडक पनि अचेल खाली नै देखिन्छ । नजिकैको चिया पसल पनि शान्त छ । सिंहदरवार नजिकै चिया पसल संचालन गरेकी सिता भण्डारी बितेका २० वर्षमा सिंहदरबार वरपरको अहिलेको जस्तो स्थिति यसअघि कहिल्यै नआएको बताउँछिन् । ‘यहाँ भिडभाड हुन्थ्यो, दैनिक १ सयभन्दा वढी प्याकेट दुधको चिया पकाएर सकिन्थ्यो,’ उनले भनिन, ‘हिजो आज त २० प्याकेट दुध खपत हुन पनि मुस्किल छ ।’ जेनजी आन्दोलनपछि यहाँको सुरक्षामा पनि कडाई गरिएको छ । भिडभाड गर्न प्रहरीले रोक्न थालेको छ । ‘यहाँ धेरैजसो दलका कार्यकर्ता, वकिलदेखि विभिन्न क्षेत्रका मानिसहरुको भिडभाड हुन्थ्यो,’ उनले भनिन, ‘राजनीतिक गफगाफ, विकास योजना सुन्न पनि रमाईलो हुन्थ्यो । अचेल त्यस्तो केही हुन्न ।’ जेनजी आन्दोलनपछि सिंहदरवार पुरै फेरिएको भण्डारी बताउँछिन् । 

सम्बन्धित खबर