
रौतहटः जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ६ सबगढामा शनिबार बिहान दुई पक्षबीच पुनः उग्र झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयको रोहवरमा भएको ६ बुँदे सहमतिलाई लत्याउँदै शनिबार बिहानैदेखि दुवै पक्षबीच ढुङ्गामुढा सुरु भएको हो।
केही दिनअघि विवाहको जन्ती जाने क्रममा दुई समुदायबीच उत्पन्न भएको सामान्य विवादले उग्र रूप लिँदा सबगढा क्षेत्र अशान्त बनेको थियो। सोही विवादलाई सुल्झाउन शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम गर्ने र आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने लगायतका ६ बुँदे सहमति गरेको थियो।
सहमतिको १२ घण्टा नबित्दै शनिबार बिहान करिब ९ बजेदेखि चार–पाँच सय जनाको समूह जम्मा भएर पुनः एकअर्कामाथि जाइलागेपछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको हो । स्थिति नियन्त्रण बाहिर जान लागेपछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपलाई तितरवितर पार्न प्रहरीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए।
घटनास्थलको कमाण्ड सम्हाल्न जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी आफैँ मैदानमा खटिएका छन्। प्रहरीका अनुसार ढुङ्गामुढाबाट केही व्यक्ति घाइते भएका छन् भने उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव नबिगार्न आग्रह गरेको छ। स्थानीय प्रशासनले सबगढा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै थप सुरक्षा बल मगाएको छ। हाल उक्त क्षेत्रमा आवतजावतमा कडाइ गरिएको छ भने प्रहरीले स्थिति सामान्य बनाउने प्रयास जारी राखेको छ।