२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

गौरमा कर्फ्यु उल्लंघन गर्ने १८ जना पक्राउ, स्थिति तनावपूर्ण

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन ९ गते १६:२९
Shares
गौरमा कर्फ्यु उल्लंघन गर्ने १८ जना पक्राउ, स्थिति तनावपूर्ण

रौतहटः ​जिल्लाको सदरमुकाम गौरमा जारी कर्फ्यु आदेश उल्लंघन गरेको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा निस्कने र समूह बनाएर प्रदर्शन गर्न खोज्नेहरूलाई शनिबार पक्राउ गरिएको हो।

ncell

​​गौर नगरपालिका वडा नम्बर ६ सवगढामा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले कर्फ्यु लगाएको थियो। प्रशासनको आदेशलाई बेवास्ता गर्दै केही व्यक्तिहरू निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

‘​शान्ति सुरक्षा कायम गर्नु हाम्रो पहिलो प्राथमिकता हो। कर्फ्युको समयमा हिँडडुल गर्ने र भीड जम्मा गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ’ सिडिओ भुसालले भने । ​पक्राउ परेका १८ जनालाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र उनीहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रशासनले जनाएको छ।

​​जिल्ला सुरक्षा समितिको बैठकले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिकाका पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यु जारी गरेको हो । ​सबगढामा दुई पक्षबीच भएको झडपपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रमा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले माइकिङमार्फत सर्वसाधारणलाई घरभित्रै बस्न र बाहिर ननिस्कन आग्रह गरिरहेका छन्।

ताजा खबर

सम्बन्धित खबर