स्थानीय तहको चुनावले थुप्रै सन्देश दिएको छ । अन्तिम नतिजा आउन बाँकी नै भएपनि राजनीतिक सन्देशको संकेत भने प्रष्ट भइसकेको छ । पहिलो दल नेकपा एमालेले ठूलो धक्का बेहोर्दै तेस्रो शक्ति बनेको छ । एमालेले पाँच वर्षभित्रै सय सिट हाराहारी गुमाएको छ । ०७४ को चुनावमा २९४ सिट जितेको एमाले पहिलो दल थियो । दोस्रोमा रहेको नेपाली कांग्रेसले २६६ सिट मात्रै जितेको थियो । तर यसपटक कांग्रेस ठूलो शक्ति बनेको छ । कांग्रेसले आइतवार साँझसम्म १२ स्थानीय तहमा अग्रता र ३१३ स्थानमा जितेको छ । कांग्रेसको यो जित ३० वर्षपछि फर्किएको हो । नेकपा माओवादी केन्द्रले भने आफ्नो हैसियत स्थीर राखेको छ । १०६ स्थानीय तहबाट माओवादी केन्द्रले यसपटक १२० स्थान जितिसकेको छ भने २ स्थानमा अग्रता छ ।
एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले १७ स्थानीय तह जितेको छ भने २ स्थानमा अग्रता छ । यसलाई एकीकृत समाजवादीले अपेक्षाकृत भनेको छैन । एमालेकै संस्थापक माधवकुमार नेपाल र झलनाथ खनाल सहित ठूलो संख्याका नेताहरुले सामेल भएको एकीकृत समाजवादीले एमालेले पाएको जितलाई पनि स्वभाविक मानेको छैन । एमाले अझ सानो भएको देख्ने उसको चाहना थियो । तर विभाजित हुने कम्युनिष्टहरुलाई मतदाताले नरुचाएर कांग्रेसलाई मत दिएको छ । त्यो भन्दा पनि ठूलो सन्देश भनेको यसपटक गैरदलीय उम्मेद्वारले प्रमुख शहरहरु जितेका छन् । राजधानी काठमाडौं, धरान उपमहानगर र धनगढी उपमहानगरमा गैरदलीय उम्मेद्वार विजयी भए ।
यसले चुनाव जित्न ठूलै दलको साहरा लिनुपर्छ भन्ने पुरानो मानसिकता बदलिएको छ । अब चुनाव जित्नलाई जनताको मन छुने एजेण्डा पुग्ने सन्देश यसपटक मतदाताले दिएका छन् । राष्ट्रिय राजनीतिमा दलहरुले खेलेको भूमिकाको राम्रो मूल्यांकन हुन्छ भन्ने प्रष्ट सन्देश हो, यो चुनावको । त्यस बाहेक जनप्रतिनिधिहरुकै निम्ति पनि ठूलो सन्देश मतदाताले दिएका छन् । अघिल्लो पटक चुनाव जितेका ठूला शहरकै प्रतिनिधि यसपटक पराजित भए । वीरगञ्ज महानगरमा अघिल्लो पटक चुनाव जितेका विजय सरावगी यसपटक अझ ठूलो दल एमालेको उम्मेद्वार बनेर पनि जित्न सकेनन् । उनी जस्ता कयौं जनप्रतिनिधिको दोहोरिने चाहना पूरा भएन । यसले मतदाताको मन जित्न नसके चुनाव जित्न कठिन पर्ने पनि यो चुनावले सन्देश दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies