
जेद्दाह : साउदी अरबमा वैदेशिक रोजगारीका सिलसिलामा कार्यरत नेपाली श्रमिकलाई लक्षित गर्दै नेपाली कन्सुलेट जनरल, जेद्दाहले ८ बुँदे महत्वपूर्ण सचेतना अपिल सार्वजनिक गरेको छ । श्रमिकहरूले कार्यस्थल तथा दैनिक जीवनमा भोग्न सक्ने कानुनी, प्रशासनिक र सामाजिक जटिलतालाई दृष्टिगत गर्दै कन्सुलेटले आवश्यक कागजातको सुरक्षित व्यवस्थापनदेखि श्रम अधिकार, एक्जिट भिसा प्रक्रिया, ट्राफिक नियम तथा सामाजिक आचरणसम्मका विषयमा स्पष्ट निर्देशन दिएको हो ।
कन्सुलेटले श्रमिकहरूलाई आफ्नो कम्पनीको नाम, सम्पर्क नम्बर, कार्यालयको ठेगाना र कम्पनीको दर्ता नम्बर (CR Number) सुरक्षित रूपमा राख्न तथा राहदानी, भिसा, बोर्डिङ पास र इकामा (Iqama) का प्रतिलिपि आफूसँगै सुरक्षित राखी नेपालस्थित परिवारलाई समेत डिजिटल माध्यमबाट उपलब्ध गराउन अनुरोध गरेको छ । इकामा प्राप्त भएपछि ‘Absher’ र ‘Qiwa’ मा व्यक्तिगत खाता अनिवार्य रूपमा खोल्न तथा पासवर्ड र ओटीपी गोप्य राख्न विशेष जोड दिइएको छ ।
रोजगार परिवर्तनसम्बन्धी विषयमा आकर्षक तलब वा अन्य प्रलोभनमा परी हतारमा कम्पनी नछाड्न सचेत गराइएको छ । ‘Qiwa’ मा उल्लेखित रोजगार सम्झौता (Employment Contract) ध्यानपूर्वक अध्ययन गरी सर्तहरू बुझेर मात्र स्वीकृत गर्न र नबुझेको कागजातमा हस्ताक्षर नगर्न आग्रह गरिएको छ । लगातार तीन महिना तलब नपाएको वा इकामा म्याद सकिएको ९० दिनसम्म नवीकरण नगरिएको अवस्थामा भने कानुनी प्रक्रिया पूरा गरी स्थानान्तरण (Transfer) गर्न सकिने जानकारी दिइएको छ ।
कुनै समस्या परेमा सर्वप्रथम सम्बन्धित कम्पनीलाई जानकारी गराउन र समाधान नभए श्रम अदालत (Labour Court) सम्म उजुरी दिन सकिने उल्लेख गरिएको छ। साथै साउदीका अत्यावश्यक हटलाइन नम्बरहरू मोबाइलमा सुरक्षित राख्न कन्सुलेटले अनुरोध गरेको छ ।
एक्जिट भिसा (Final Exit) सम्बन्धी प्रक्रियामा हुरुब लागेको वा इकामा म्याद समाप्त भएको अवस्थामा दूतावास वा कन्सुलेटको सिफारिससहित HRSD पोर्टलमार्फत प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ । एक्जिट भिसा प्राप्त भएपछि मात्र काम छाड्न र बाँकी जरिवाना तिरेपछि मात्रै स्वदेश फर्कन सकिने स्पष्ट पारिएको छ ।
ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारी दुर्घटना भएमा ‘Najm’ वा ट्राफिक प्रहरीलाई तत्काल जानकारी दिन तथा औषधि सेवन गर्दा चिकित्सकको प्रेस्क्रिप्सन अनिवार्य रूपमा साथमा राख्नुपर्ने सूचनामा उल्लेख छ । लागूऔषध सेवन वा कारोबार, अवैध आर्थिक गतिविधि, अनधिकृत स्थानमा औंठाछाप दिनु, सार्वजनिक स्थलमा अनुचित पोशाक प्रयोग गर्नु वा सरकारी निकायसम्बन्धी फोटो–भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्नुजस्ता कार्य कडा कानुनी अपराध हुने चेतावनी पनि दिइएको छ ।
कन्सुलेटले साउदीको पश्चिम क्षेत्रमा कार्यरत नेपालीलाई जेद्दास्थित कन्सुलेट र पूर्व क्षेत्रमा कार्यरतलाई रियादस्थित नेपाली राजदूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ । राहदानी, श्रम, बीमा, क्षतिपूर्ति तथा अन्य कन्सुलर सेवासम्बन्धी परामर्शका लागि सम्पर्क विवरणसमेत सार्वजनिक गरिएको छ ।
कन्सुलेटले सबै नेपाली श्रमिकलाई सचेत, सुरक्षित र कानुनसम्मत ढंगले कार्य गर्न अनुरोध गर्दै कुनै समस्या उत्पन्न भएमा समयमै सम्बन्धित कूटनीतिक नियोगसँग सम्पर्क गर्न आग्रह गरेको छ ।


