
रौतहट : यस वर्षको फागु पूर्णिमा (होली) र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार–प्रसार एकै समय परेपछि रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि र निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले विशेष सुरक्षा रणनीति लागू गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै प्रचार–प्रसार अवधि र मौन अवधि नजिकिँदै गर्दा होली पर्वसमेत परेकाले राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनको गरिमा र होलीको मौलिकता जोगाउन सबै पक्षले जिम्मेवार व्यवहार देखाउनुपर्ने उल्लेख गरिएको छ ।
प्रशासनले निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्न निर्देशन दिँदै उल्लंघन गर्नेलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ । विशेषगरी मौन अवधिमा हुन सक्ने राजनीतिक चलखेल तथा उत्सवको आवरणमा गरिने चुनावी प्रचारलाई रोक्न सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
होलीलाई सद्भाव र भाइचाराको पर्वका रूपमा मनाउन प्रशासनले केही गतिविधिमा स्पष्ट प्रतिबन्ध लगाएको छ ।
कसैको अनुमति बिना जबर्जस्ती रङ दल्ने, लोला हान्ने वा फोहर पानी छ्याप्ने कार्य दण्डनीय हुने जनाइएको छ । मेला, जात्रा वा ठूलो भीडभाड हुने कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी चर्को आवाजमा डीजे बजाउने, सार्वजनिक शान्ति भंग हुने गरी होहल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्नेप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने प्रशासनले स्पष्ट पारेको छ ।
केही दिनअघि रौतहटको गौर नगरपालिका–६ सबगढा क्षेत्रमा दुई समुदायबीच विवाद उत्पन्न भई स्थिति तनावपूर्ण बनेको पृष्ठभूमिमा यसपटक प्रशासन थप संवेदनशील बनेको छ । संवेदनशील क्षेत्रहरूको पहिचान गरी सुरक्षाकर्मीको संख्या बढाइएको जनाइएको छ ।
प्रशासनले सुरक्षामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई दुःख–हैरानी पुग्ने गतिविधि नगर्न र आचारसंहिता विपरीतका गतिविधि देखिएमा नजिकको सुरक्षा निकायमा जानकारी गराउन अपिलसमेत गरेको छ ।