२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

​बालिका अपहरण प्रकरण, रौतहटका वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन १४ गते १२:३३
Shares
​बालिका अपहरण प्रकरण, रौतहटका वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

रौतहट : ​जिल्लाको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसाद बालिका अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएपछि यो घटनाले नयाँ मोड लिएको हो ।

जिल्ला अदालत मकवानपुरकी न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले वडाध्यक्ष प्रसाद माथि लागेको अभियोगको गम्भीरतालाई ध्यानमा राख्दै उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । अदालतको उक्त आदेशपछि उनलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ ।

२०७४ को सम्बन्धित दफा बमोजिम उनलाई कारागार पठाउन प्रहरीलाई निर्देशन दिएको थियो । ​गत पुस २ गतेदेखि दुर्गाभगवती गाउँपालिका–४ छतौनाकी १४ वर्षीया बालिका बेपत्ता भएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती बालिकालाई सोही ठाउँका २० वर्षीय युवक दिलीपले हेटौँडाबाट भगाएको देखिएको छ । तर घटना भएको लामो समय बितिसक्दा पनि बालिका र ती युवक दुवैको अवस्था अज्ञात रहेको छ ।

​बालिकाका पिता नेमलाल राय यादवले आफ्नी छोरीको खोजी र दोषीमाथि कारबाहीको माग गर्दै मकवानपुर र रौतहट दुवै जिल्लाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

यस अपहरण प्रकरणमा वडाध्यक्ष प्रसादको संलग्नता देखिए पनि अन्य पाँच जना आरोपीहरू अझै प्रहरीको पहुँच बाहिर छन् । फरार रहनेहरूमा ​रान्धिर यादव, ​अनिता देवी यादव, ​मनतजिर यादव, ​मेनुका कुमारी यादव तथा ​काजल कुमारी यादव छन्  ।

​​प्रहरीले बालिकालाई हेटौँडाबाट भगाइएको र यसमा संगठित योजना हुन सक्ने आशंका गरेको छ । जनप्रतिनिधि नै यस्तो गम्भीर मुद्दामा मुछिएर जेल परेपछि स्थानीय स्तरमा यसको निकै चर्चा र विरोध भइरहेको छ । यद्यपि, बालिकाको वर्तमान अवस्थाबारे ठोस जानकारी प्राप्त नहुनुले प्रहरी प्रशासनमाथि दबाब बढेको छ ।

यो घटनाले समाजमा बालिका सुरक्षा र जनप्रतिनिधिको नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ। पीडित परिवारले न्यायको प्रतिक्षा गरिरहेका छन् ।

सम्बन्धित खबर