
रौतहट : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विशेषगरी सदरमुकाम गौरस्थित मुख्य सीमा नाका गौर भन्सार क्षेत्रमा सुरक्षा घेरा मजबुत बनाइएको छ । खुला सीमाको फाइदा उठाएर हुन सक्ने सम्भावित घुसपैठ, अवैध हातहतियार ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा नाकामा चौबीसै घण्टा अतिरिक्त जनशक्ति खटाइएको छ । नाका भएर आवतजावत गर्ने व्यक्ति तथा सवारी साधनमाथि सघन खानतलासी र निगरानी थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार संवेदनशीलतालाई ध्यानमा राख्दै सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रौतहटको करिब ३२ किलोमिटर क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको प्रशासनको भनाइ छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा क्षेत्रमा पैदल तथा मोबाइल गस्ती तीव्र बनाएको छ । मुख्य नाकामा सीसीटीभी क्यामेरा र अन्य प्राविधिक उपकरणमार्फत निगरानी बढाइएको छ ।
भारतीय सीमा सुरक्षा बलसँग समेत निरन्तर समन्वय गरी सीमा पारिबाट हुन सक्ने आपराधिक गतिविधि रोक्न सहकार्य भइरहेको सुरक्षा स्रोतले जनाएको छ । शङ्कास्पद व्यक्तिलाई सोधपुछ तथा आवश्यक जाँचपछि मात्र प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ ।
निर्वाचनलाई लक्षित गरी सीमा क्षेत्रमा मदिराको अवैध ओसारपसार तथा बिक्री–वितरणमा समेत कडाइ गरिएको छ । अवैध हातहतियार तथा विष्फोटक पदार्थ भित्रिन नदिन डग स्निफिङ टोली परिचालन गर्ने तयारीसमेत गरिएको छ ।
निर्वाचन आयोगको निर्देशनअनुसार सीमावर्ती जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ । सोहीअनुसार रौतहट प्रशासनले निर्वाचन विशेष सुरक्षा योजना अन्तर्गत गौर नाकालाई उच्च प्राथमिकतामा राखेको हो ।
सुरक्षा स्रोतका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि सीमा नाका पूर्ण रूपमा ‘सिल’ गरिनेछ । उक्त अवधिमा आकस्मिक सेवाबाहेक अन्य सबै प्रकारका आवतजावत बन्द रहने जनाइएको छ ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षा जाँचमा सहयोग गर्न तथा कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।