२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन १५ गते २०:५९
Shares
निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री

रौतहट : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

निर्वाचनको सुरक्षा अवस्था र तयारीबारे स्थलगत जानकारी लिन शुक्रबार रौतहटको सदरमुकाम गौर पुगेका गृहमन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालय रौतहट मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । उनले निर्वाचनका समयमा सुरक्षा निकायलाई पूर्ण तटस्थता र उच्च जिम्मेवारीका साथ परिचालन हुन कडा निर्देशन समेत दिए ।

सुरक्षा अधिकारीहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले लोकतान्त्रिक अधिकारको अभ्यासका लागि सहज वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए । राम्रो नियत, सभ्य आचरण र कानुनी मर्यादाभित्र रहेर चुनावी प्रतिस्पर्धामा उत्रिने उम्मेदवार तथा दलहरूलाई सरकारले पूर्ण सहजीकरण गर्ने उनले स्पष्ट पारे । 

कानुन मिच्ने र निर्वाचनको मर्यादा उल्लंघन गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने उनले चेतावनी दिए । निर्वाचन आयोग को आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही हुने उल्लेख गर्दै उनले दण्डहीनताको संस्कृतिको अन्त्य गर्न सरकार दृढ रहेको बताए ।

अफवाहको पछि नलाग्न आग्रह

निर्वाचनका विषयमा केही समूहबाट फैलाइने अनावश्यक आशंका र अफवाहप्रति सचेत रहन आग्रह गर्दै मन्त्री अर्यालले सरकार र निर्वाचन आयोग तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पारे। उनले निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेमा ढुक्क रहन सबैलाई विश्वास दिलाए ।

सोही अवसरमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लाको सुरक्षा तयारीबारे जानकारी दिँदै सीमा क्षेत्रदेखि अतिसंवेदनशील तथा संवेदनशील मतदान केन्द्रसम्म सुरक्षा व्यवस्था सुदृढ पारिएको बताए । जिल्लाभर उच्च सतर्कता अपनाइएको र निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भइसकेको उनको भनाइ थियो । 

अनुगमन टोलीमा गृहमन्त्री अर्यालका साथै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग के.सी., सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा गृह मन्त्रालयका सह–सचिव आनन्द काफ्ले लगायतको उच्चस्तरीय उपस्थिति रहेको थियो । टोलीले रौतहटको वस्तुस्थिति बुझ्दै सुरक्षा रणनीतिका विषयमा थप निर्देशन दिएको जनाएको छ ।

सम्बन्धित खबर