२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

इरानमाथि अमेरिका–इजरायल हमला : विश्व तरंगित

shivam cement
जीवन शर्मा
२०८२ फागुन १७ गते ०६:२५
Shares
इरानमाथि अमेरिका–इजरायल हमला : विश्व तरंगित

काठमाडौं : इजरायल र अमेरिकाको संयुक्तरूपमा शनिबार इरानको राजधानी तेहरान लगायत विभिन्न शहरहरूमा गरेको आक्रमणपछि विश्वभर शान्ति खलबलिने त्रास बढेको छ । इरानाका आणविक उत्पादन क्षेत्रमा अमेरिका–इजरायलको आक्रमणपछि इरानले प्रतिआक्रमण गरेसँगै तनावको स्थिति बढेको हो ।   

इजरायर र इरानबीच दशकौँदेखि रहँदै आएको वैमनस्यता आक्रमणको मुल कारण मानिएको छ । तेहरान आक्रमणपश्चात मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित प्रतिआक्रमण गरेको वीवीसीलगायत सञ्चारमाध्यामहरूले जनाएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा इजरायलले गरेको आक्रमणमा आफ्नो संलग्न रहेको बताएका छन् । 

ट्रुथ सोसलमा सार्वजनीक भिडिओमा ट्रम्पले इरानमा अमेरिकाले ‘ठुलो युद्ध अभियान’ सुरु गरेको दाबी गरेका छन् ।

‘हामीले सम्झौता गर्न बारम्बार प्रयास गर्‍यौँ’, उनले भनेका छन, ‘हामी उनीहरूको क्षेप्यास्त्र नष्ट गर्नेछौँ र मिसाइल उद्योगलाई माटोमा मिलाइदिने छौँ ।’ 

मध्यपूर्वभरी इजरेलविरुद्ध सक्रिय कतिपय सशस्त्र समूहहरूलाई इरानले समर्थन गर्दै आएको थियो । गत वर्षको जुनमा इजरायलले अकस्मात् हमला गर्दै इरानको सैन्य तथा परमाणुस्थलहरूमा बमबारी गरेको थियो । त्यसबेला वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएको थियो । 

प्रतिक्रियास्वरूप इरानले इजरायलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो । उक्त आक्रमणको आठ महिनापछि फेरि द्धिपक्षिय युद्ध चर्किएको हो । यो घटनाले विश्वराजनीतिमा तरंग ल्याइदिएको छ । अमेरिकाको मुख्य सहयोगमा गरिएको आक्रमणपछि इरानले अमेरिकी सेना भएको क्याम्पहरू लक्षित आक्रमण बढाउने नीति लिएको छ । सो क्रममा आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा इरानले ड्रोन मिसाल प्रहार गरी आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् । अमेरिकाले इरानका आणविक उत्पादन क्षेत्रमा आक्रमण सुरु गरेकाले त्यसको जवाफी कारबाही स्वरूप मध्यपूर्वका अमेरिकन बेस क्याम्पहरुमा आक्रमण सुरु गरेको हो । 

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (इरना)का अनुसार, यी आक्रमणहरूमा दक्षिणी इरानमा कम्तीमा ४० छात्राहरूको मृत्यु भएको र सयौं घाइते भएको बताइएको छ । यसको जवाफमा इरानले इजरायलमाथि प्रतिआक्रमण करिब ४०० वटा मिसाइल प्रहार गरेको छ । इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाएको छ । 

साथै, संयुक्त अरब इमिरेट्सको सबैभन्दा बढी जनसंख्या भएको शहर दुबई पनि आक्रमणको निशानामा छ । इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालय तथा इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको संञ्चार संस्थाहरूले दाबी गरेका छन् । 

अशान्ति फैलन नदिन विश्वप्यापी अपिल

विश्वका विभिन्न मुलुकहरूले पछिल्ला घाटनालाई क्षेत्रीय आक्रमणकारूपमा लिदै अशान्ति फैलन नदिन आग्रह गरेका छन् । 

अमेरिका–इजरायल संयुक्त आक्रमणको जवाफमा इरानले अनेकौँ खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निसाना बनाएसँगै युद्धले क्षेत्रीय रूप लिएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । 

इरानले अमेरिकी सैन्य अखडा रहेका बहराइन, कुवेत, कतार, यूएई, साउदी अरबलगायतका मुलुकमा क्षेप्यास्त्र प्रहार गरेको हो । 

यो युद्धको प्रभावस्वरूप विश्वभरका एयरलाइन्सहरूले सो क्षेत्रको उडान रद्द गरेका छन् । 

विश्वकै आर्थिक गतिविधि, वित्तीय बजार, लगानीको क्षेत्र र मानिसहरुको आवतजावतको केन्द्रका रुपमा रहेका खाडी मुलुकहरूमा नेपाल सहित अन्य देशका करोडौँ कामदार कार्यरत छन् । इरानको यो कदमले भूराजनीतिक रुपमा ठूलो प्रभाव निम्त्याउने विश्लेषकहरू बताउँछन् ।  

इरान र संयुक्त राज्य अमेरिकाबीच परमाणु हतियारसम्बन्धी चलिरहेको वार्ताका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । 

उनले दिएको चेतावनीको केही समयमै भएको यो आक्रमले विश्व राजनीतिमा समेत बहसको विषय बनेको छ ।  

आक्रमणसँगै इरानको आणविक कार्यक्रमका सन्दर्भमा भइरहेको वार्ता पुनः अवरुद्ध भएको छ । 

यो घटनापछि तेल अभिभस्थित नेपाली दूतावासले नेपाली नागरिकका लागि एडभाइजरी जारी गर्दै मध्यपूर्वमा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । 

यस सन्दर्भमा हाल इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ । 

पूर्ण साबधानीकासाथ घरभित्रै सुरक्षित बस्न र नेपाली समुदायसँग नियमित सम्पर्कमा दूतावासले आग्रह गरेको छ । 

नेपाल पनि प्रभावित

इजरायल–इरान द्वन्दपछि तनावपूर्ण बनेको मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिप्रति नेपालमा समेत चिन्ता बढेको छ । खासगरी ती मुलुकमा बसोबास गर्ने नेपाली नागरिकको अवस्थाप्रति नेपाल सरकार र राजनीति दलहरूले ध्यान केन्द्रित गरेका हुन् । 

नेपाल सरकारले विदेशस्थित विभिन्न द्वन्दग्रस्त मुलुकमा रहेका नेपालीहरूलाई सुरक्षित रहन अपिल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

नेपाली कांग्रेसका सभापति गगन थापाले उक्त क्षेत्रमा विभिन्न देशहरूमा कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरूको सुरक्षा अवस्था झनै संवेदनशील बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले भनेका छन्, ‘यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइमा अनुरोध गर्दछु । सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला। आफ्नो ख्याल गर्नुहोला ।’ 

उनले सुरक्षा नियमहरूको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमार्फत चिन्ता व्यक्त गर्दै युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन् । 

‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ,’ ओलीले लेखेका छन्, ‘त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।’ 

नेपाली कम्युनिस्ट पार्टी, रास्वपालगायत दल र नेताहरूले समेत यो घटनाप्रति चिन्तासहितको चासो व्यक्त गरेका छन् । 

रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सञ्जमलकम लेखेका छन्, ‘मध्यपुर्वी एसियाका बिभिन्न देशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा विशेष अनुरोध छ ।’ 

नेपालबाट ७ देशमा हवाइ उडान रद्द

नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रतिबन्ध लगाइएको छ ।  

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने बिभिन्न सात वटा देशको उडान रद्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । 

‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । 

उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ’ उनले भनेका छन् ।  । 

यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरिएको छ । 

सम्बन्धित खबर