२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रौतहटमा निर्वाचन लक्षित कडा सुरक्षा, बख्तरबन्द गाडीसहित सेनाको ‘फ्ल्याग मार्च’

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन १७ गते १२:२८
Shares
रौतहटमा निर्वाचन लक्षित कडा सुरक्षा, बख्तरबन्द गाडीसहित सेनाको ‘फ्ल्याग मार्च’

रौतहट : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना अन्तर्गतको श्री नारायणदल गणले जिल्लाभर सक्रियता बढाएको छ ।

निर्वाचन सुरक्षा योजनाअनुसार सेनाले रौतहटका सबै १८ स्थानीय तहमा टोली परिचालन गरेको जनाएको छ । पैदल गस्तीका साथै मोटरसाइकल, साना–ठुला सवारी साधन र अत्याधुनिक बख्तरबन्द गाडी प्रयोग गरी मुख्य बजार, संवेदनशील क्षेत्र र मतदान केन्द्र आसपास ‘फ्ल्याग मार्च’ सञ्चालन भइरहेको छ ।

सुरक्षा निकायका अनुसार सेनाको दृश्य उपस्थितिले मतदातामा सुरक्षा अनुभूति गराउनुका साथै सम्भावित अवाञ्छित गतिविधि रोक्न मनोवैज्ञानिक प्रभाव पार्ने विश्वास लिइएको छ ।

जिल्ला सुरक्षालाई थप मजबुत बनाउन सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सँग समन्वयमा संयुक्त गस्ती सञ्चालन गरिरहेको छ । मतदान केन्द्र वरपर विशेष निगरानी बढाइएको छ ।

सम्भावित जोखिम तत्काल नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको छ । विगतका घटनाक्रम र भौगोलिक संवेदनशीलताका आधारमा निगरानी कडा पारिएको छ । तीनवटै सुरक्षा निकायबीच सूचना आदानप्रदान र परिचालनमा एकरूपता कायम गरिएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचन व्यवस्थापनका लागि जिल्लाभर १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिएको छ । म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहिलो तथा दोस्रो घेरापछि तेस्रो सुरक्षा घेरामा नेपाली सेनाले कमाण्ड सम्हालेको छ ।

“निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । सुरक्षा व्यवस्था मजबुत भएकाले रौतहटवासीले डर–त्रास बिना ढुक्क भएर मतदानमा सहभागी हुन सक्छन्,” प्रमुख जिल्ला अधिकारी भुसालले बताएका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा सडकमा बढेको संयुक्त सुरक्षा गस्ती र बख्तरबन्द गाडीको चहलपहलले सर्वसाधारणमा सुरक्षाको अनुभूति गराएको छ । सम्भावित धाँधली वा सुरक्षा चुनौतीप्रति ‘शून्य सहनशीलता’ नीति अपनाइएको सुरक्षा स्रोतले जनाएको छ ।

सम्बन्धित खबर