लण्डन : बेलायतमा सिजनल रोजगारीका लागि ल्याइएका मौसमी नेपाली कृषि मजदुर चर्काे शोषणमा परेको सार्वजनिक भएको छ । ‘विश्वकप फुटबल रंगशाला निर्माणका क्रममा कतार, यूएईमा घरेलु आप्रवासी कामदार ठगिने आम विषय भएपनि बेलायतमै नेपाली कामदार ठगीमा परे ?’ बेलायतको व्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाको संयुक्त खोजले यो विषय सार्वजनिक गरेपछि कामदार भर्नाको ठगी विश्वव्यापी बहसको विषय बनेको छ ।
फलफूल तथा तरकारी टिप्ने कामका लागि बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्म लगिएका नेपाली ठगिएको अध्ययनले देखाएको छ । नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट निर्णय लागू गरेको ६ वर्ष भइसकेको छ । तर ६ महिनाको मौषमी कामका लागि ५ लाख रुपैयाँ एजेन्टलाई तिर्नुपरेको बेलायत आइपुगेका नेपालीहरूले अनुसन्धानकर्ताहरूलाई बताएको दि गार्डियनले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेकोे छ ।
कामदारहरूले जोन खड्काले सञ्चालन गरेकोे नेपाली कम्पनी ‘माइ करिअर एचआर सोलुसन्स’लाई ५ लाख रूपैयाँ तिरेको बताएका छन् । बेलायतमा हवाई टिकट र भिसा खर्च मात्रै आवेदकले खर्च गर्नुपर्ने बताइएको छ । कामदारले भिसा आवेदन गर्दा लाग्ने कुल खर्च २ सय ५९ पाउण्ड अर्थात् करिब ४० हजार नेपाली रुपैयाँ लाग्ने बताइएको छ ।
बेलायतको हेरफोर्डशरस्थित कोब्रे फार्ममा काम गर्न १ सय ५० जना नेपाली ल्याइएको र उनीहरू सबैले अवैधरूपमा महँगो शुल्क तिर्नु परेको समाचारमा उल्लेख छ । ती कामदारमध्ये धेरैले बेलायतमा जागिर मिलाइदिने कम्पनीका लागि काम गर्ने एजेन्टहरूलाई उक्त रकम तिरेको दाबी गरेका छन् ।
ब्रेक्जिटपछि युरोपेली संघबाट बाहिरिएको र कोभिडको कारणले कामदार अभाव भएपछि बेलायतले कृषिका लागि विदेशबाट अस्थायी मौसमी कामदार लिन शुरू गरेकोे थियोे । नेपाल बाहेक अन्य मुलुकबाट ल्याइएका कामदार पनि शोषणमा परेको हुनसक्ने समाचारमा उल्लेख छ । बेलायती अधिकारकर्मीहरूले आप्रवासी कामदार ठगीको विषय गम्भीर भन्दै त्यस विषयमा कम्पनी जवाफदेही हुनुपर्ने माग गरेका छन् ।
त्यसमध्येकी एक हुन् बेलायतको गैरदासत्व सम्बन्धी स्वतन्त्र आयुक्तकी पूर्व सल्लाहकार तथा अनुसन्धानदाता एमिली केनवेल । उनले भनेकी छन्, ‘रोजगारीका लागि यहाँ आउँदा आप्रवासी कामदारहरू ठगीनु हुँदैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies