
काठमाडौं : सात समुद्रपारी मध्यपूर्वमा युद्ध चर्किँदा धुलिखेलकी सरस्वती खड्काको मन अशान्त छ । उनी घरीघरी फोन हेरिरहन्छिन् । दुबईमा रहेकी छोरीलाई भिडियो कल गर्छिन् । हालखबर सोध्छिन् । छोरी अहिलेसम्म सुरक्षित नै छिन् । तर युद्धको लप्का कहाँकहाँसम्म पुग्नेको कुनै टुंगो छैन ।
उनकी छोरी शर्मिला दुबईको एउटा होटलमा वेटरको काम गर्छिन् । छोरीले भिडियो कलमा हमलाको साइरन बजेको सुनाउँछिन् । दुबईमा भएकी छोरीको चिन्ता गर्दै भन्छिन्, ‘विदेश नजा भनेको मानिनँ । रोजगारी छैन भन्दै गई । अहिले छोरी टाढा छ । हामीलाई के हुने हो भन्ने चिन्ता छ ।’ शनिबारदेखि अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणको त्रास दुबईसम्म फैलिएको छ ।
सिन्धुपाल्चोककी प्रविना मल्लले मध्यपूर्व हमला भएको खबर सामाजिक सञ्जालमा देखेदेखि उनको भोक–निन्द्रा हराएको छ । उनका श्रीमान सुरेश मल्ल ५ वर्षदेखि इराकमा छन् । युद्धका छरपष्ट भिडियोले उनको चिन्ता बढाएको छ । चैते दशैंमा आउने तयारी गरिरहेका सुरेशले आफूहरू सुरक्षित रहेको भन्दै परिवारलाई हौसला दिन्छन् ।
इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण लाखौं नेपाली कार्यरत रहेको मध्यपूर्वमा असुरक्षा बढेपछि वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारमा चिन्ता बढाएको छ । युद्ध कति लम्बिने हो र कहाँकहाँ प्रभाव पर्ने हो कुनै एकिन छैन ।
यता नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ ।
सो सम्बन्धमा जानकारी दिन मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव कृष्णप्रसाद ढकालले भने, ‘हालसम्म त्यस क्षेत्रमा नेपाली नागरिक सुरक्षित छन् । नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको छ । सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई त्यसको पालना गर्न आग्रह गर्दछौं ।’
यस्ता घटनाक्रमलाई सम्बोधन गर्न मन्त्रालयले ‘¥यापिड एक्सन टिम’ गठन गर्न लागेको सहसचिव ढाललले जानकारी दिए । मध्यपूर्व र आसपासका इरानमा ६ जना, इजरायलमा ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्स (युएई)मा चार लाख ७८ हजार १४४, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार २८८ जना नेपाली नागरिक रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यस क्षेत्रका नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताए । उनले त्यहाँ नेपाली नागरिकलाई घरभित्रै सुरक्षित रहन, सूचना पालना गर्न, अप्ठ्यारो परेमा दूतावास र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे ।
मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी श्रेष्ठले नेपाली नागरिकको सुरक्षाका लागि त्यस क्षेत्रका आठ दूतावास र दुई कन्सुलर सेवाबाट सूचना जारी गरी समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।
यसैगरी मन्त्रालयले ‘एड्भाइजरी’ जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको हो । ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्,’ मन्त्रालयले जारी गरेको एड्भाइजरीमा उल्लेख छ ।
मध्यपूर्वको घटनाक्रमपछि हाल भिसा र टिकट लिई गन्तव्य मुलुक जाने तयारीमा रहेका, गन्तव्य मुलुक जानका लागि विमानस्थल पुगेका र युरोप तथा अमेरिका जानका लागि ट्रान्जिट विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकले सास्ती भोग्नुपरेको छ ।
यसैबीच इरानले अमेरिकी सैनिक बेसमा आक्रमण गर्दा युएईमा एक नेपाली कामदारको ज्यान गएको छ । नेपालीसहित पाकिस्तानी र बंगलादेशी कामदारको मृत्यु भएको छ भने युएई, इजिप्टियन, इथियोपियाली, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमेनी, युगान्डा, इरिट्रियन, लेबनानी र अफगानी गरी अन्य ५८ जना सामान्य घाइते भएका छन् ।
युएई रक्षा मन्त्रालयले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरूलाई रोक्दै वायु रक्षा प्रणालीहरूले केही भग्नावशेषहरू देशका विभिन्न भागहरूमा खस्दा नेपालीसहित ३ जनाको मृत्यु र सम्पत्तिहरूमा क्षति पुगेको बताएको छ ।
मन्त्रालयले जनतालाई आधिकारिक स्रोतहरूबाट जानकारी प्राप्त गर्न र अफवाह वा अप्रमाणित जानकारी फैलाउनबाट बच्न पनि आग्रह गरेको छ ।
उता कतारको राजधानी दोहामा अवस्था त्रासपूर्ण रहेको बतााइएको छ । गाडीहरू चलेको, सुपरमार्केट, बैंकहरू खुलेको भएपनि घरबाटै काम गर्न भनिएको छ ।