
काठमाडौं : डोकोमा साग राखेर घरघरमा बेच्न हिँडेकी रामेछापकी सुनिता कार्की सोमबार हतारमा थिइन् । उनी भन्दै थिइन्, ‘साग किनिदिनुस् न । थोक भाउमै लैजानुस् । भोट हाल्न जानु छ । नाफा नलिएरै सबै तरकारी बेचेर सक्नुपर्ने छ ।’
सोमबार मध्यरातदेखि मौन अवधि लागू भइसकेको छ । चुनावको अघिल्लो दिनदेखि सावरी साधन पनि चल्ने छैनन् भन्ने सूचना पाएपछि उनी डोकोमा तरकारी राखेर बेच्न हिँडेकी हुन् । उनी भोट हाल्न जानकै लागि तरकारी सबै बेचिसक्न घरघर पुगेकी हुन् । अरु बेला अनामनगरको सेतोपुल नजिकको चोकमा उनी तरकारी बेच्थिन् । ‘हाम्रो जिल्लाको सबै गइसके । म पनि जाने हो’, उनले भनिन्, ‘यति तरकारी बेचेर बिहानै जाने हो ।’ उनले मंगलबार बिहानका लागि गाडीको टिकटसमेत लिइसकेकी छन् ।
जनकपुरका सन्तोष यादवलाई रातोपुलमा चटपटे बनाउन भ्याइनभ्याइ हुन्थ्यो । चटपटे बनाउने काम छाडेर उनी सोमबार बिहानै जनकपुर लागे । उनी भोट हाल्नका लागि घर गएका हुन् । ‘उमेदवारले भोट हाल्नका लागि बोलाएको बोलाइ छन्, भोट हाल्न गाउँ जान लागेको,’ उनले चटपटे खान आएका ग्राहकहरुलाई भनिरहेका थिए, ‘अब चुनाव सकेर आउने हो ।’
यसपटक चुनाव र होली सँगै परेको छ । पहाडी क्षेत्रमा सोमबार फागु पूर्णिमा मनाइयो भने तराई–मधेशमा मंगलबार मनाइँदै छ । यादवसँगै चुनाव र होली मनाउन अरु सात जना साथीहरू पनि जनकपुर गएका छन् । ‘भोट हालेन भने नेता रिसाउँछ, केही समस्या प¥यो भने आफ्नो नेतालाई भन्नुपर्छ,’ उनले भने, ‘भोट नै हालेन भने पछि कोसँग समस्या सुनाउनु ?’
सुनिता र सन्तोष मात्र होइन, विभिन्न जिल्लाबाट कामका लागि काठमाडौं बस्दै आएका हजारौंले उपत्यका छाडिरहेका छन् । मतदाताहरू घर फर्किएपछि काठमाडौंमा बस्ती र बजार पातलिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, ७ लाखको हाराहारीमा मतदाताहरूले उपत्यका छाडेका छन् । ‘फागुन ४ गतेदेखि १७ गतेसम्म करिब ७ लाखले उपत्यका छोडेका हुन्’, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहले भने, ‘विभिन्न जिल्लाका सवारी साधनमा गएका यात्रीको आधारको तथ्यांक हो ।’
फागुन २१ गते हुने निर्वाचनमा भोट हाल्न जाने मतदाताहरुको चाप बसपार्कमा देखिन्छ । काठमाडौं बाहिरिने प्रमुख नाकाहरू कोटेश्वर, कलंकी, बल्खुलगायतका स्थानमा बिहान र बेलुकी यात्रुहरूको भिड लाग्ने गरेको छ । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरू पनि भोट हाल्न गाउँ फर्किंदैछन् । मंगलबारसम्म नै यात्रुको चाप उच्च हुने अनुमान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको छ । विभिन्न दल र उम्मेदवारहरूले सवारी साधनको व्यवस्थासमेत मिलाएका छन् । पार्टीका समर्थक र कार्यकर्ता ओसार्न गाडी रिजर्भ गरेर लैजान उम्मेदवारहरूले प्रतिनिधि नै खटाएका छन् ।